नेपालगञ्ज : नेपाल–भारत सीमानामा अवैध गतिविधिमा निरन्तर कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल खजुरा क्षेत्रबाट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट ल्याइएको धेरै ठुलो परिमाणको लागूऔषध ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो । प्रहरी टोलीलाई देखेपछि ओसार–पसारमा संलग्न व्यक्ति फरार भएका छन् ।
बरामद ४३ हजार क्याप्सुल ट्रामाडोल र मोटरसाइकल थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेले जनाएको छ ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि नियमित चेकजाँच र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गर्दैआएको जनाउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भिमबहादुर चन्दले नाकामा कडाइ गरिएपछि लागुऔषध तथा अन्य अवैध पदार्थको ओसार–पसारमा संलग्नहरु पक्राउ पर्दैगएको बताए ।
उनले निगरानी र चेकजाँचलाई आगामी दिनमा थप प्रभावकारी बनाइने तथा लागुऔषध लगायतको ओसार पसारलाई नियन्त्रण गरिने बताए । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले बाँकेको सीमावर्ती क्षेत्रमा तालिमप्राप्त क्यानाइन डगसमेत परिचालन गरी लागुऔषधविरुद्ध विशेष अभियान सञ्चालन गर्दैआएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार