कैलाली : भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् ।
टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आएपनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आतुर छन् ।
बाढीपछि टीकापुर नगरपालिका –१ समितिपुरका वीरबहादुर चौधरी, सनिशराम थारु, मनिराम चौधरी, राजेश चौधरी, भुवन चौधरी, अन्तराम चौधरी, खुसीराम चौधरी, दीपक चौधरी सम्पर्कविहीन भएका छन् ।
टीकापुर–१ कै भुपू कमैया बस्तीका बादल चौधरी, बिफु चौधरी, मानबहादुर चौधरी, शिवनारायण चौधरी, प्रजित डगौरा थारु रहेका छन् । यस्तै एकतापुरका राजकुमार थारु, विपतराम चौधरी, आशिष चौधरी, आशिषकी बहिनी कमला चौधरी, विपतपुरका साधुराम चौधरी पनि सम्पर्कमा छैनन् ।
टीकापुर नगरपालिका –५ मनिकापुरका चुन्की थारु, चन्द्रबहादुर थारु, धनुवा थारु, ठगराम चौधरी, कमलबहादुर चौधरी पनि सम्पर्कविहीन छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार टीकापुरका श्रमिकहरु जलविद्युत आयोजनाको सुरुङ नम्बर २१६ मा कार्यरत थिए ।
यस्तै रसुवा भन्सार कार्यालयमा कार्यरत टीकापुर नगरपालिका –१ ब्लक नं १३ का सन्तोष न्यौपाने, बैंकमा कार्यरत ब्लक १४ का सुभाष रावल र नुवाकोटको विदूरमा कार्यरत टीकापुर–७ डाँडाबोझीका अर्जुनकुमार डगौरा थारु, टिमेरे पार्किङमा काम गर्ने ज्योतीनगरका सन्दीप सन्ज्याल, मनकला सन्ज्याल, सुस्मिता जोशी, वडा नम्बर २ का करिश्मा शाही पनि सम्पर्कविहीन भएका छन् ।
वडा कार्यालयहरुले सम्पर्कविहीन व्यक्तिहरुको परिवारबाट सूचना लिइ प्रशासनलाई उपलब्ध गराएको र उद्धार भएको खबरको प्रतिक्षामा बसेका टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन् ।
आफन्त बेखबर भएका परिवारका सदस्यहरुलाई भने छटपटि भइरहेको छ । सम्पर्कविहीन समितिपुरका राजेश चौधरीको श्रीमती पुष्पा चौधरी मुर्छित् भएको फुलकुमारी चौधरीले बताइन् । फुलकुमारी भन्छिन, 'भाइ दीपक चौधरी पनि बेखबर छ, काकी -पुष्पा) को अवस्था सम्हाल्न नसकिने हुँदैछ । हाम्रा मानिसहरु फेला परेको खबर सुन्न आँतुर छौं ।'
टीकापुरका युवाहरुलाई काममा लैजाने समितिपुरकै ठेकेदार तुलाराम चौधरी र भान्से दलबहादुर चौधरी भने सम्पर्कमा आएका छन् । बाढी आउनेबेला कोठामै रहेका दुवैजना भागेर अग्लो स्थानमा जाँदा सुरक्षित भएका हुन । 'बाढी आएको बेला सुरुङमा कैलाली र डोटीका ४२ जना र चारजना चिनियाँ कर्मचारी काममा थिए' ठेकेदार तुलारामले भने, 'करिब २०० मिटर गहिरो सुरुङ छ । भित्र पसिसकेका भए भित्रै थुनिएको हुनुपर्छ, कोही डण्डी काटने काममा बाहिर भए बगे होलान ।'
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार