Listen LIVE

बाँकेमा निर्वाचनमा खटिएका कर्मचारीलाई नियुक्तिपत्र वितरण सुरु

नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा खटिने २ हजार ४०९ कर्मचारीलाई नियुक्तिपत्र वितरण सुरु गरिएको छ । निर्वाचन तयारीलाई अन्तिम चरणमा पु¥याउने उद्देश्यले मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगञ्ज र निर्वाचन अधिकृतका कार्यालयले नियुक्तिपत्र वितरण अघि बढाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतले तालिमअघि नै नियुक्तिपत्र बुझिसकेका छन् । बाँकी सहायकस्तरका कर्मचारीलाई अहिले नियुक्तिपत्र प्रदान गरिँदैछ ।

नियुक्तिपत्र प्राप्त गरेपछि कर्मचारीहरू आफ्नो जिम्मेवारीअनुसार निर्वाचन प्रक्रियामा खटिनेछन्। कार्यालयका अनुसार निर्वाचनलाई स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक जनशक्ति व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।

जिल्लामा तीन निर्वाचन क्षेत्र छन् । ती अन्तर्गत १३९ मतदानस्थल र ४०० मतदान केन्द्र निर्धारण गरिएको छ । बाँकेमा ३ लाख ५० हजार ३७१ मतदाता छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् ।

सहायक कर्मचारी गणेश कुमार मिश्रका अनुसार प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइनेछ भने प्रत्येक मतदानस्थलमा ३ जना स्वयंसेवक परिचालन गरिनेछ । आवश्यकताअनुसार नेपाल प्रहरीसमेत परिचालन गरिने तयारी छ ।

निर्वाचनका लागि मसी, मतपेटिका लगायत ५२ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ । केही सामग्री कार्यालयमै उपलब्ध छन् भने बाँकी निर्वाचन आयोगबाट आउने क्रममा रहेको जनाइएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा मतदान केन्द्र केन्द्रित तयारी तीव्र पारिएको छ ।

प्रतिक्रिया