Listen LIVE

आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइनलमा प्रवेश

पर्वत : त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा शुक्रवार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो। तर, पाँचौँ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो।

पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। यसअघि शुक्रवार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइनलमा प्रवेश गरेको थियो। पराजित भएको आयोजक टाइगर ग्रुपले शनिवार फाइनल प्रवेशका लागि टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछन्।

अब आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुने छ। एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिस्पर्धा गर्नेछन्। एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्ने छ।

प्रतिक्रिया