Listen LIVE

लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय सचेतना अभियान

नेपालगञ्ज : युवापुस्तालाई लागूऔषध दुर्व्यसनको जोखिमबाट जोगाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१९ मा दुईदिने लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम शुरु गरिएको छ ।

बालकल्याण तथा सामुदायिक विकास संघ, बाँकेको आयोजनामा तथा नेपालगञ्ज उपमहानगरपालिका–१९ को आर्थिक सहयोगमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो दिन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

आजदेखि दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममार्फत विद्यार्थीहरूलाई लागूऔषधको दुरुपयोग, त्यसबाट उत्पन्न हुने सामाजिक, आर्थिक तथा स्वास्थ्यगत असर, कानुनी व्यवस्था तथा रोकथामका उपायबारे जानकारी प्रदान गरिएको थियो ।संघका अध्यक्ष वसन्त कनौजियाको अध्यक्षता तथा वडा नं. १९ का कार्यवाहक अध्यक्ष राम सुहावन बर्माको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक ज्ञानुमाया थनेत, वडा कार्यालयका प्रशासन प्रमुख मनोज रिजाल, स्वास्थ्य प्रमुख केशवराज गौतम, विद्यालयका प्रधानाध्यापक केशव चन्द, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ, मुजम्मिल हुसैन नगर कार्यपालिकाका सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

सचेतनामूलक कार्यक्रममा प्रशिक्षक वसन्त कनौजिया, अरुणकुमार सिंह तथा प्रहरी निरीक्षक ज्ञानुमाया थनेतले सहजीकरण गर्दै लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए । उनीहरूले लागूऔषध सेवनका कारण उत्पन्न हुने विभिन्न सामाजिक विकृति, अपराधजन्य गतिविधि तथा त्यसका दीर्घकालीन असरबारे समेत सचेत गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष वसन्त कनौजियाले पछिल्लो समय लागूऔषध दुर्व्यसन युवामाझ गम्भीर सामाजिक चुनौतीका रूपमा बढ्दै गएको उल्लेख गर्दै विद्यालयस्तरबाटै सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले भने, æलागूऔषध दुर्व्यसन आजको समाजको जटिल समस्यामध्ये एक हो । विशेषगरी किशोरकिशोरी र युवालाई यसबाट जोगाउन परिवार, विद्यालय, समुदाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ । सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीलाई सही जानकारी दिई कुलतबाट टाढा राख्ने प्रयास गरेका छौं ।Æ

त्यसैगरी प्रमुख अतिथि तथा वडा नं. १९ का कार्यवाहक अध्यक्ष रामसुहावन बर्माले लागूऔषध नियन्त्रणका लागि सचेतनानै सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, æलागूऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन। समुदाय, अभिभावक, विद्यालय र स्थानीय सरकार सबैको साझा दायित्व र सक्रिय सहभागिता आवश्यक हुन्छ । युवालाई सकारात्मक मार्गतर्फ अग्रसर गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छु ।Æ

कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्षसमेत रहेका अरुणकुमार सिंहले गरेका थिए । उनका अनुसार अभियानको दोस्रो दिन जगतज्योति माध्यमिक विद्यालयमा पनि यस्तै प्रकृतिको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालयस्तरमै लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न, दुर्व्यसन नियन्त्रणमा सहयोग पु¥याउन तथा स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया