Listen LIVE

खजुराका पाँच सडक आयोजनाको ठेक्का रद्द

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने पाँच वटा आयोजनाको ठेक्का रद्द गरेको छ । वडा नं.४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्रे गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो ।

कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन । दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको उक्त योजना अन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्रे हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ ।

अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैँकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षौंदेखि अलपत्र अवस्थामा छन् । पालिकाले यी सबै पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक सूचना जारी भएपछि केही निर्माण व्यवसायी सम्पर्कमा आए पनि विश्वसनीय आधार प्रस्तुत गर्न नसक्नेहरूको ठेक्का अन्त्य गरिएको हो । सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौता बमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया–बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार सेवा अन्त्यपछिको मूल्याङ्कनबाट कायम हुने रकम सरकारी बाँकी सरह असुलउपर गरिने कानुनी व्यवस्था भएकाले १५ दिनभित्र कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न गाउँपालिकाले जानकारी गराएको छ ।

प्रतिक्रिया