Listen LIVE

नेपाल घुम्न आउने पर्यटकलाई नेपालगञ्जमा स्वागत गरिने

नेपालगञ्ज : नेपालगञ्ज पर्यटन परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा नेपाल–भारत सीमा जमुनाहा नाकामा सरसफाइका साथै त्यस दिन भारतबाट नेपाल घुम्न आउने पर्यटकलाई नेपालगञ्ज नाकामा भव्य स्वागत गर्ने भएको छ ।  

२७ सेप्टेम्बर (असोज ११ गते) का दिन विश्वभर मनाइने पर्यटन दिवसको अवसरमा परिषद्ले उक्त तयारी गरेको हो । नेपालगञ्जलगायत पश्चिम नेपाललाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नेपालगञ्जको पर्यटन व्यवसायीहरुले भदौ २५ गते नेपालगञ्ज पर्यटन परिषद् गठन गरेका थिए ।

परिषदमा साना होटेलहरुको सङ्गठन होटेल व्यवसायी सङ्घ बाँके, तारे होटेलहरुको सङ्गठन होटल सङ्घ (हान) बाँके र टुर एन्ड र ट्राभल अप्रेटरहरुको सङ्गठन नाट्टा बाँकेको संस्थागत प्रतिनिधित्व रहेको छ ।  

नेपालगञ्जलगायत पश्चिम नेपालमा पर्यटन क्षेत्रको एकीकृत विकास, प्रचारप्रसार, बजार विस्तार तथा निजी क्षेत्रबिच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन होटल, रेस्टुरेन्ट, ट्राभल तथा पर्यटन व्यवसायलाई एउटै छातामुनि समेटेर नेपालगञ्ज पर्यटन परिषद् गठन गरिएको परिषद्का अध्यक्ष केशवराज न्यौपानेले बताए ।  

परिषद्ले तीन तहको सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, पर्यटन व्यवसायी, होटल तथा रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, यातायात व्यवसायी तथा सरोकारवाला संस्थासँग समन्वय गरी नेपालगञ्जलगायत पश्चिम नेपालको पर्यटन विकासमा योगदान गर्ने लक्ष्य राखेको छ । 

परिषद्ले नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख पर्यटन हब तथा प्रवेशद्वारका रूपमा विकास गर्ने  लक्ष्य राखेको अध्यक्ष न्यौपानले बताए ।

त्यसैगरी बाँकेसहित कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पर्यटन गन्तव्यलाई जोडेर पर्यटन प्याकेज निर्माण गर्ने, भारतीय सीमावर्ती क्षेत्रका पर्यटकलाई लक्षित गरी सीमापार पर्यटन प्रवद्र्धन गर्ने, होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायको व्यावसायिक क्षमता र सेवा गुणस्तर वृद्धि गर्ने, नेपालगञ्जलगायत पश्चिम नेपालका खाना, संस्कृति, कला, धार्मिक तथा प्राकृतिक पर्यटनको विश्वभर प्रचार गर्ने लक्ष्य राखेको परिषद्का महासचिव भिमलाल कँडेलले बताए ।

नेपालका विभिन्न प्रदेश तथा भारतका सीमावर्ती सहरका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल तथा टुर अपरेटरलाई सहभागी गराई पर्यटन बजार विस्तार गर्ने तयारी गरिरहेको उनले बताए । उनका अनुसार विवाह, रिसेप्सन, पारिवारिक समारोहका लागि आवश्यक होटल, बैंक्वेट, खानपान, सजावट र पर्यटन प्याकेज विकास गरी नेपाल तथा भारतीय बजारमा प्रचार गर्ने लक्ष्य रहेको छ । 

नेपालगञ्जसहित बाँकेमा एक दर्जनभन्दा बढी तारे होटेल, करिब ३ हजार साना होटेल तथा रेस्टुरेन्ट र दुई दर्जनभन्दा बढी ट्राभल एजेन्सी रहेका छन् । परिषद्ले निजी क्षेत्रको एकता, पारदर्शिता, व्यवसायिक सहकार्य र परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिँदै नेपालगञ्जलाई पर्यटन, आतिथ्य र व्यापारको पश्चिमी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया