सल्यान : शारदा नगरपालिका पशु सेवा शाखाले पालिकाभित्रका छाडा र घरपालुवा कुकुरहरूलाई रेबिज रोगविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ । शारदा नगरपालिकाका अनुसार गाउँ वस्तिका साथै खलंगा, श्रीनगर बजारलगायतका व्यावसायिक केन्द्रहरूमा खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
पशु सेवा शाखा प्रमुख पशुचिकित्सक दीपा पौडेलले हालसम्म पालिका विभिन्न क्षेत्रमा कुल २४६ वटा कुकुरहरूलाई रेबिजविरुद्धको खोप प्रदान गरिएको बताए । उनले भने, रेबिज रोग कुकुरबाट मानिसमा सर्न सक्ने घातक संक्रमण भएकाले समयमै रोकथाम नगरे मानव र पशु दुवैको जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने खतरा रहेको छ । त्यसैले नगरपालिका स्तरबाट सञ्चालन गरिएको खोप अभियानले समुदायमा रोग नियन्त्रण र स्वास्थ्य सचेतना बढाउने लक्ष्य राखिएको हो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरपालिकाका सबै वडामा खोप अभियान विस्तार गर्नेछौं । हरेक कुकुरसम्म खोपको पहुँच सुनिश्चित गर्न व्यवस्थापन भइरहेको बताए ।
मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले स्थानीय सरकारले सञ्चालन गरेको रेबिज विरुद्धको खोप अभियान उदाहरणीय भएको बताए । उनले भने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको पहल प्रशंसनीय छ । यसले समुदायमा स्वास्थ्य सचेतना र जिम्मेवारीबोधलाई पनि वृद्धि गर्नेछ ।”
यस अभियानले केवल पशु स्वास्थ्यमा सुधार मात्र ल्याउने नभई मानव स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
शारदा नगरपालिका, सल्यानले रेबिज विरुद्धको खोप लगाउन थालेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार