नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइराला मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन क्षेत्रीय कार्यसमिति अहोरात्र खटिएको छ । युवा नेता कोइराला उम्मेदवारका रुपमा पाउँदा मतदाताहरुमा पनि उत्साह देखिएको छ । जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएकाले पनि देशभर छुट्टै खालको उत्साह मिलेको काँग्रेसका नेताहरु बताउँछन् । बाँके क्षेत्र नं.२ मा काँग्रेसको चुनावी अभियानबारे क्षेत्रीय सभापति रमेश कुमार गुप्तासँगको कुराकानीको सम्पादित अंशः
बाँके क्षेत्र नं.२ मा काँग्रेसको कस्तो चल्दैछ चुनावी अभियान ?
बाँके क्षेत्र नं. २ मा हाम्रो चुनावी अभियान निकै उत्साहजनक ढङ्गले अघि बढिरहेको छ । सहर तथा गाउँ वस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । घरदैलो कार्यक्रम, टोल भेला, सभा सबै ठाउँमा जनताको उल्लेख्य सहभागिता देखिएको छ । उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ । हामीले विशेष गरी युवाहरु, महिला र किसानसँग बढी जोड दिएको छौं । विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा लिएर हामी जनतामाझ पुगेका छौं । समग्रमा भन्नुपर्दा, जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं र वातावरण हाम्रो पक्षमा देखिन्छ ।
यो सुशील कोइरालाको विरासत बोकेका क्षेत्र पनि हो, मतदाताहरु के भन्छन् ?
हो, बाँके क्षेत्र नं. २ दिवंगत नेता सुशील कोइरालाको क्षेत्र हो । उहाँको सादगी, इमान्दारी र देशप्रतिको निष्ठा आज पनि यहाँका जनताले स्मरण गरिरहेका छन् । कोइराला परिवारको राजनीतिक विरासत बोकेको ठाउँ हो । काँग्रेसले विरासत बोकेका परिवारको उम्मेदवार त उठाएको छ नै, पछिल्लो जेनजी आन्दोलनपछि युवा नेतृत्वको चर्चाले पनि हामीले ४४ वर्षीय सुधान्शु कोइरालालाई चुनावी प्रतिस्पर्धामा उतारका छौं । सुधान्शु बेदाग युवा हुन् । सम्भावना बोकेका युवा हुन् । उनको राम्रो छवि छ । युवा पुस्तामा पनि लोकप्रिय छन् । युवा र अत्यन्तै इमान्दार उम्मेदवार पाएकाले पनि मतदाता उत्साहित देखिनुहुन्छ ।
नयाँ–नयाँ पार्टी पनि प्रतिस्पर्धामा आएका छन् नि ?
लोकतन्त्रमा नयाँ पार्टीहरु आउनु स्वभाविक हो । यो सकारात्मक पनि हो । तर, चुनाव जित्नका लागि केवल नयाँ हुनु मात्र पर्याप्त हुँदैन । अनुभव, संगठन, स्पष्ट नीति र जनतासँगको निरन्तर सम्बन्ध आवश्यक हुन्छ । नेपाली काँग्रेससँग लामो राजनीतिक अनुभव, संगठनात्मक मजबुती र जनताको भरोसा छ । त्यसैमा अहिले काँग्रेस बदलिएर आएको छ । एक हिसावले भन्ने हो भने नयाँ भनेकै काँग्रेस पार्टी हो ।
काँग्रेसको नेतृत्व बदलिएर आएपछि जनतामा उत्साह देखिएको छ भन्नुभएको हो ?
हामीले जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएर आफूलाई बदल्यौँ । तर, हाम्रा प्रतिस्पर्धी दलहरुले त अझै पुरानै नेतृत्व बोकिरहेका छन्, जसलाई जनताले मन पराएका छैनन् । नयाँ भनिएका पार्टीहरुले पनि २०७९ को चुनावमा भाग लिइसकेकै हुन्, उनीहरु पनि पूर्णरुपमा नयाँ होइनन् । त्यसैले यो क्षेत्रमा जनताको भरोसा अहिले नेपाली कांग्रेसप्रति नै छ । अन्य दलहरु मुद्दा र कलंकले घेरिएका छन् । तर, हाम्रा सभापति गगन थापामाथि त्यस्तो कुनै दाग छैन । उहाँले नेपाल बदल्ने जुन सपना र सोच राख्नुभएको छ, त्यसलाई अहिले देशभरका जनताले पत्याएका छन् । बाँके क्षेत्र नं. २ मा पनि हाम्रो उम्मेदवार निष्कलंक हुनुहुन्छ । जनताले पनि त्यही भावना व्यक्त गरिरहनुभएको छ ।
काँग्रेसको चुनावी एजेण्डा के छ ?
हाम्रो मुख्य एजेण्डा विकास र समृद्धि हो । विशेष गरी हामीले बाँके क्षेत्र नं. २ का लागि यी विषयमा जोड दिएका छौं । कृषिको आधुनिकीकरण र किसानको आम्दानी वृद्धि, युवालाई रोजगारी र सीप विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सडक, खानेपानी, सिंचाई, महिला सशक्तिकरण र सामाजिक न्याय हाम्रा मुद्दा हुन् । त्यति मात्र होइन, राप्ती नदीको कटान र डुवानको समस्या पनि छ । त्यसको दीर्घकालीन समाधानमा पनि हाम्रो ध्यान छ । हामीले स्थानीय आवश्यकता अनुसार योजना बनाएर काम गर्ने प्रतिबद्धता लिएका छौं ।
मतदाताले काँग्रेसलाई किन जिताउने ?
पहिलो कुरा, काँग्रेस लोकतन्त्रको मुख्य र जिम्मेवार शक्ति हो । हामीले सधैं जनताको अधिकार र स्वतन्त्रताको रक्षा गरेका छौं । दोस्रो, हाम्रो नेतृत्वमा देशले स्थायित्व र विकासको मार्ग समातेको छ । तेस्रो, हामीसँग स्पष्ट योजना, सक्षम टिम र कार्यान्वयन गर्ने अनुभव छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार