काठमाण्डौ : फोर नेसन्स कप च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि जित्दै दाउँमा छ। यो नेपालका लागि ६ वर्ष अघि भारतमा भएको हिरो गोल्डकपको फाइनलमा भोगेको हारको बदला लिने अवसर समेत हो।
उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय महिला टोलीका लागि यो महत्वपूर्ण अवसर हो। अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब ४ दशकसम्म महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। उसका लागि घरेलु मैदान र दर्शकको साथमा पहिलो उपाधि दिलाउने अवसर आएको छ। १२ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालसामु आएको यो १३ औं अवसर हो।
यस पटक उपाधिका लागि कुनै कसर बाँकी नराख्ने टोलीका प्रशिक्षक र कप्तानको दाबी छ। पछिल्लो पटक कात्तिकमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो। यो वर्ष मात्रै नेपाली टोलीले तेस्रो उपाधिका लागि खेल्दैछ। साफ अघि नेपाली टोली वाफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।
तर घरेलु मैदानमा भएको साफो फाइनलमा नेपालले हार व्यहोरेको त्यो चौंथो पटक थियो। त्यसको ठिक ४ महिनापछि फेरी नेपाल त्यही स्थानमा छ। नेपालले साफको फाइनलमा भोगेको त्यो पीडा यही मैदानमा बिर्साउने दाउमा छ।
प्रतियोगितामा अपराजित रहँदै नेपाल र म्यानमार फाइनल पुगेका हुन्। दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। लिग चरणमा नेपालले दुवै टोलीलाई समान १–० गोलले हराउँदा म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले हराएको थियो।
फिफाको महिला वरियतामा ५५औं स्थानमा रहेको म्यानमार र १०३औं स्थानको नेपालबीच हुन लागेको यो छैठौं भेट हो। पछिल्लो पटक यहि प्रतियोगिताको लिग चरणमा भएको खेल २–२ गोलको बराबरी भएको थियो। त्यसअघि ४ खेल खेल्दा १ बराबरी र ३ खेलमा नेपाल पराजित भएको छ।
सन् २०१९ मा भारतको भुवनेश्वरमा ४ देश सम्मिलित हिरो गोल्डकपको फाइनलमा नेपाल र म्यानमारनै आमनेसामने भएका थिए। जहाँ नेपाल ३–१ गोलले पराजित भएको थियो। ६ वर्ष पछि यि दुई टोली फेरी एक पटक उपाधिका लागि भिड्दैछन्।
बलियो नेपाली टिम
दक्षिण एसिया बाहिरका देशहरुबीचको यो भिडन्तमा घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई छ। स्टार खेलाडी साबित्रा भण्डारी साम्बासँगै अन्य देशका लिग खेलिरहेका नेपाली टोलीका अन्य खेलाडीले नेपाली टोली बलियो स्थितिमा देखिन्छ।
व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी अवुधावी काउन्ट्रीमा अनुबन्ध रेखा पौडेल र ग्रिसको क्लब महिला ‘ए’ डिभिजन खेलिरहेकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको अनुभवले पनि नेपाली टोली हौसिएको छ।
साम्बा पनि फ्रान्सेली क्लबमा आबद्ध छिन्। साम्बाले यो प्रतियोगितामा २ गोल गरेकी छिन्। उनले लेबनान र म्यानमारविरुद्ध १–१ गोल गरेकी छिन्। गोलकिपरमा अन्जना राना मगर र उषानाथ नेपाली टोलीको राम्रो विकल्प हुन्।
डिफेन्समा गीता राना, अमृता जैशी, पूजा राना, विमला विक, निशा थोकर अनुभवी छन्। समिक्षा घिमीरे, विमला चौधरी र मनमाया दमाइ पनि डिफेन्समै छन्।
नेपाल मिडफिल्डको खम्बा प्रिति राई हुन्। उनीसँगै सविता राना मगर, रेनुका नगरकोटी, अनिता बस्नेत , सरु लिम्बूले नेपाली टोली सन्तुलित बनेको छ।
मिडफिल्डमा रेनुका हमाल र सुष्मा तामाङ पनि टोलीमा छन्। प्रिति र सविताको लिग चरणमा निकै उत्कृष्ट खेल प्रर्दशन भएको छ।
नेपालको सबैभन्दा बलियो पक्ष भनेको साम्बा अग्रपंक्तिमा हुनु हो। विगत केही वर्षदेखीको इतिहास पल्टाउने हो भने साम्बाको आक्रमक प्रस्तुतीले नेपालको स्कोरिङ उकासिरहेको छ। हार्नै लागेको खेलमा पनि साम्बाले कमब्याक गराएको स्थीति छ। लिग चरणमा २–१ ले पछि परेको अवस्थामा म्यानमारविरुद्ध साम्बाले नै गोल गर्दै खेललाई बराबरीमा पु¥याएकी थिइन्। अग्रपंक्तिमा रश्मी कुमारी घिसिङ, रेखा पौडेल अनिता केसी पनि उत्तिकै संभावना बोकेका खेलाडी हुन्। अग्रपंक्तिमा चन्द्रा भण्डारी पनि रहेकी छिन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार