Listen LIVE

बाँकेमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न

नेपालगञ्ज : बाँकेमा हालसम्म ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा धान खेती हुँदै आएको ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये ३१ हजार ५०० हेक्टरमा रोपाइँ सकिएको हो।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि रोपाइँले गति लिँदा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो। उनका अनुसार सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीमा निर्भर केही क्षेत्रमा मात्रै बाँकी रहेको छ।

प्रमुख घिमिरेका अनुसार सिक्टा सिँचाइ आयोजनाको कमान्ड क्षेत्रसहित अन्य सिँचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ पूरा गरिसकेका छन्। पछिल्लो समय भएको पर्याप्त वर्षाले रोपाइँमा उल्लेख्य प्रगति भएकाले अब केही दिनभित्रै जिल्लामा धान रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गरेको किसान बताउँछन्। यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले रोपाइँ पनि केही ढिलो सुरु भएको थियो। तर पछिल्ला दिनमा भएको पर्याप्त वर्षाले खेतमा पानी पुगेपछि किसानलाई रोपाइँ गर्न सहज भएको हो।

कृषि ज्ञान केन्द्रका अनुसार अब करिब पाँच प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ गर्न बाँकी छ। नरैनापुरमा अपेक्षाकृत ढिलो रोपाइँ सुरु भएकाले बाँकी रोपाइँ पनि मुख्य रूपमा सोही क्षेत्रमा रहेको छ।

मौसम अनुकूल रहँदै नियमित वर्षा भए केही दिनभित्रै बाँकी क्षेत्रफलमा समेत रोपाइँ सम्पन्न हुने केन्द्रले जनाएको छ। आगामी दिनमा ठुलो वर्षा भएर बाढी नआए यस वर्ष धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

प्रतिक्रिया