Listen LIVE

बाँकेमा सिफलिसका १८७ जना नयाँ बिरामी भेटिए

नेपालगञ्ज : बाँकेमा १८७ जना सिफलिस प्रभावित नयाँ बिरामी भेटिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालमा सञ्चालन भइरहेको सिफलिस (भिरिङ्गी) सम्बन्धी वैज्ञानिक अनुसन्धानको क्रममा गत तीन महिनामा गरिएको तथ्याङ्क सङ्कलनमा १८७ जना सिफलिसका नयाँ बिरामी भेटिएको भेरी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँले बताए । 

उनले तीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको तथा केहीले यसअघि उपचार गराइसकेका बिरामीसमेत रहेको जनाउँदै बिरामीमा मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका युवा बढी पाइएको बताए । 

डा. चापागाइँका अनुसार जन्मजात सङ्क्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सङ्क्रमण पुष्टी भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा सङ्क्रमण सरेको भेटिएको छ ।

भेरी अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौन रोग विभाग अन्तर्गत …भेनस कर्नरÚ स्थापना गरेको अस्पताललले जनाएको छ । …भेनस कर्नरÚ मा  सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा सुरक्षित, गोप्य र व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको छ । 

छाला तथा यौन रोग विशेषज्ञ डा. चापागाइँका अनुसार सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधीको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या हो । अनुसन्धानले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार यौनाङ्गमा घाउ भएका १० भन्दा बढी बिरामी रेकर्डमा समावेश छन् भने करिब ३० प्रतिशत बिरामी पुरानो सङ्क्रमण निको भए–नभएको जाँच गर्न अस्पताल पुगेका हुन् ।

भेरी अस्पतालमा २०२६ जनवरी १ देखि सुरु भएको सिफलिससम्बन्धि अनुसन्धान यो वर्षको डिसेम्बर अन्तिमसम्म निरन्तर जारी रहने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया