Listen LIVE

कोहलपुरमा २६ सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण

नेपालगञ्ज : बाँकेको कोहलपुरमा २६ सयभन्दा बढी नागरिकको निःशुल्करुपमा आँखा परीक्षण गरिएको छ ।

कोहलपुर नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा सञ्चालित विशेष आँखा शिविरबाट दुई हजार ६८७ जना स्थानीय सर्वसाधारण नागरिकले निःशुल्करुपमा स्वास्थ्य सेवा लिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृतकुमार रानाले जानकारी दिए ।

रानाका अनुसार चैत ९ गतेदेखि १५ गतेसम्म आँखा जाँच स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो । जसमा एक हजार ५९६ महिला र एक हजार ९१ जना पुरुष गरी जम्मा दुई हजार ६८७ जना नागरिकले निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए ।

आँखा परीक्षण गरिएकामध्ये ३७३ जना नागरिकको मोतिबिन्दुको समस्या पाइएपछि उहाँहरुको पनि निःशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिए । मोतिबिन्दु पत्ता लागेका नागरिकहरुको चैत १६ देखि १८ गतेसम्म कोहलपुर नगर अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक रानाले बताए । २०१ महिला र १७२ पुरुषको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

आँखा परीक्षण गरिएका सम्पूर्ण नागरिकहरुलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो । मोतिबिन्दुको शल्यक्रिया गरिएका नागरिकहरुलाई आवश्यक औषधिका साथै फलफूल समेत निःशुल्क वितरण गरिएको रानाले बताए ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सधैँभर सचेत रहेको र नगरवासीको स्वास्थ्य उपचार गर्नु कर्तव्य र जिम्मेवारी रहेको भन्दै विभिन्न समयमा यसप्रकारका निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिँदै आइएको बताए ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग सम्झौता गरि गत वर्षबाट निःशुल्क आँखा परीक्षण तथा निःशुल्क रुपमै मोतिबिन्दु रोगको शल्यक्रिया अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । सम्भव भएसम्म ६–६ महिनामा निःशुल्क आँखा जाँच शिविर गर्ने सम्भव नभए वर्षमा एकपटक शिविर सञ्चालन गरि नागरिकको निःशुल्क आँखा परीक्षण गर्ने सम्झौता भएअनुसार यो शिविर सञ्चालन गरिएको उनले बताए ।

नगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष एक हजार ७०५ पुरुष र ८०३ महिला गरि दुई हजार ५०३ जना नागरिकको निःशुल्क आँखा परिक्षण गरिएको थियो । जसमध्ये २२४ महिला र २१८ पुरुष गरि ४४२ जना नागरिकको निःशुल्क आँखाको शल्यक्रिया गरिएको थियो ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँकी वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रिता गुरुङ र डा. सुरेन्द्र यादवको टिमले आँखाको स्क्रिन परीक्षण गर्नुका साथै मोतिबिन्दु पत्ता लागेका नागरिकको आँखाको शल्यक्रिया गर्नुभएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया