काठमाण्डौ : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ ।
कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्याय, फिल्मका निर्देशक घनश्याम लामिछाने, निर्देशक शिवजी लामिछाने, प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण देवकोटालगायतको उपस्थिति थियो । भारत भ्रमणको संयोजन मुरली मनोहर सिंहले गरेका थिए भने कार्यक्रमको सञ्चालन उनले नै गरेका थिए ।
फिल्मका परिकल्पनाकार उपाध्यायले बिहारमा आफ्नो फिल्मको ऐतिहासिक प्रदर्शन भएको बताए । ‘हामीले त्यहाँ भोजपुरी भाषामा प्रदर्शन गर्यौ । त्यहाँ एसएसबीबाट उच्च सम्मानका साथ यो अभियानको फिल्म ‘अग्नीदहन’को स्वागत गर्नुभयो । हामी निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा लैजाने तयारी गरेका छौं’, उनले भने, ‘नेपाल भारतको सीमावर्ती क्षेत्रमा शिक्षामूलक फिल्म नबनिरहेको अवस्थामा हाम्रो फिल्म त्यहाँको लागि नयाँ कुरा भयो । त्यसकारण पनि उहाँहरु ‘अग्नीदहन’ प्रति सकारात्मक हुनुहुन्छ ।’
परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा फिल्म ‘अग्नीदहन’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितलनिवासमा प्रिमियर हुँदैछ ।
उनले आफूहरु पुगेको स्थानका जनताले फिल्म हेरेपछि ‘बोक्सी हुँदैन रहेछ । यो भ्रम र मनको डर रहेछ’ भनेको स्मरण गरे । तराईमा मधेसी जनताले ‘डाइन नई होइछे’ भनेर प्रतिक्रिया दिएको जनाए ।
फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।
फिल्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल संरक्षक छन् ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार