दाङ : दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट ती बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बङ्गलाचुली गाउँपालिकाका विभिन्न सामुदायिक वनबाट सबैभन्दा बढी ३० नाल भरुवा बन्दुक बरामद गरेको छ । सो टोलीले वडा नं. ५, ६ र ८ का सामुदायिक वनमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमही नगरपालिका–९ स्थित बिरुवा सामुदायिक वन क्षेत्रबाट सात नाल भरुवा बन्दुक बरामद गरेको छ । यसैगरी प्रहरी चौकी रामपुरबाट परिचालित टोलीले बङ्गलाचुली गाउँपालिकाका वडा नं. ४ र ८ का वन क्षेत्रबाट १३ नाल तथा प्रहरी चौकी हाँसिपुरबाट खटिएको टोलीले बबई गाउँपालिकाका विभिन्न सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए ।
बरामद गरिएका सबै भरुवा बन्दुक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । प्रहरीले अवैध हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन यस्ता खोजतलास अभियानलाई निरन्तरता दिइने जनाएको छ ।्
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार