काठमाण्डौ : एएफसी एसियन कप क्वालिफायर्स २०२७ अन्तर्गत तेस्रो चरणको छनोटको खेलहरू यही मार्च २५ देखि सुरु हुँदैछ । त्यसमा नेपाल समूह एफमा मलेसिया, भियतनाम र लाओससँगै छ ।
यसअघि सार्वजनिक खेलतालिका अनुसार नेपालले पहिलो खेल घरेलु मैदानमा मलेसियासँग खेल्ने तालिका थियो । मार्च २५ मा नेपालले पहिलो होम म्याच दशरथ रंगशालमा खेल्ने तय भएपनि त्यो खेल नेपालमा नहुने भएको छ ।
अब नेपालले पहिलो खेल मलेसियामा गएर खेल्नेछ । समूह एफमा रहेका नेपाल र मलेसियाबीचको खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुनेछ ।
नेपाली फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलबारे अहिलेसम्म आधिकारिक रुपमा खेल कहाँ हुने भनेर सार्वजनिक गरेको छैन ।
तर एसियाली फुटबल महासंघ (एएफसी) ले भने नेपाल र मलेसियाको होम म्याच मलेसियामा हुने उल्लेख गरेको छ । एएफसीले आफ्नो आधिकारिक वेवसाइटमा राखेको खेलतालिकामा पनि पहिलो खेल मलेसियाको मैदान जोहोरमा हुने उल्लेख छ ।
खासमा नेपालले मलेसियासँग पहिले होम म्याच खेल्ने र पछि अवे म्याच खेल्नुपर्ने हो । तर दशरथ रंगशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त फुटबल खेल खेलाउने स्वीकृति नपाउँदा नेपालले होममा हुने पहिलो खेल बाहिर गएर खेल्नुपर्ने अवस्था आएको हो ।
एएफसीका प्रतिनिधिले केही समयमा दशरथ रंगशालाको निरिक्षण गरेको थियो । उनीहरूले रंगशालमा अन्तर्राष्ट्रिय खेल खेलाउन लागयक रहेको बताएपनि ट्रेनिङ भेन्युहरू ठिक नभएको बताएको स्रोतले जनाएको छ ।
एएफसी वेवसइटमा रहेको खेलतालिका नेपाल र मलेसियाको फुटबलसंघबीच दुई खेल ‘स्वाप’ गर्ने सहमति भएको उल्लेख गर्दै पहिलो खेल मलेसियामा हुने जनाएको छ ।
त्यसपछि नेपालले मलेसियासँग होम म्याच सन् २०२५ नोभेम्बरमा खेल्ने उल्लेख गरिएको छ । तर त्यो खेलका लागि मैदानको टुङ्गो भएको छैन ।
सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कप खेल्ने लक्ष्यका साथ तेस्रो चरणमा एसियाका २४ राष्ट्रहरू तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ र हरेक समूहको विजेता मात्र एसियन कपमा छनोट हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार