Listen LIVE

कर्णाली पारीका स्याउ नेपालगञ्ज बजारमा

नेपालगञ्ज : सडक सञ्जालसँग जोडिन नसकेको बाजुराको कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिकाको स्याउ बजारीकरणका लागि कैलाली, नेपालगञ्ज, सुर्खेत लगायतका बजारमा पुगेको छ । 

सडक अवरुद्धका कारण बारीमै थन्किन पुगेको गाउँपालिकाको अर्ग्यानिक स्याउ कर्णाली करिडोरको बाटो सञ्चालनमा आएसँगै बिक्री वितरणका लागि जिल्ला बाहिरका बजारमा पुग्न थालेको हो । स्वामिकार्तिक गाउँपालिका स्थित जेबाले, सैदेओ, खुन्का र जोरु लगायतका ठाउँको स्याउ बिक्रीका लागि जिल्ला बाहिर ढुवानी शुरु भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए । 

सडक पुग्न बाँकी रहेको र पुगे पनि वर्षातकका कारण अवरुद्ध भएका ठाउँमा अन्य विकल्पबाट भए पनि स्याउ ढुवानी गरिने अध्यक्ष रोकायाले बताउनुभयो । पालिकाको तथ्याकं अनुसार हालसम्म गाउँपालिकाबाट १४ ट्रक स्याउ ढुवानी भइसकेको छ । 

गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानी भएको र पीलुचौर देखि ट्रक मार्फत सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा निर्यात भइरहेको छ ।

गत वर्ष अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाण्डौसम्म पु¥याइएको स्याउ यस वर्ष मार्तडी–कोल्टी सडक लामो समय देखि अवरुद्ध हुँदा कर्णाली कोरिडोरबाट कालिकोट, सुर्खेत हुँदै नेपालगञ्ज र कैलालीको धनगढी र लम्कीसम्म पुगेको स्याउ कृषक तथा स्याउ विक्रेता धनबहादुर रावलले बताए । कोल्टी मार्तडी सडक खण्ड सुचारु नभएपछि विकल्पको रुपमा कर्णाली करिडोरको बाटो खोज्नु परेको उनको भनाइ छ ।

कर्णाली करिडोर नजिकै पर्ने हुँदा स्वामिकार्तिकको स्याउ ढुवानी शुरु भएपनि कर्णाली वारि बुढिनन्दा नगरपालिका स्थित पाण्डुसैनको स्याउ भने ढुवानी हुन सकिरहेको छैन । मार्तडी कोल्टी सडक खण्ड बर्षात शुरु भएसँगै ३ महिनादेखि अवरुद्ध हुँदा त्यहाँको स्याउ बारीमै कुहिन थालेको कृषकहरूले गुनासो गर्न थालेका छन् ।

बाजुरामा कुल ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने गरिएको छ । जसमध्ये हाल उत्पादनशील क्षेत्र १ सय ७५ हेक्टर रहेको छ भने जम्मा उत्पादन १ हजार १ सय ३७ मेट्रिक्टन हुने गरेको छ ।

प्रतिक्रिया