Listen LIVE

हिल्साबाट फर्कन थाले पर्यटक

हुम्ला : काठमाडौँ हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्ला जिल्लाको हिल्सा नाकाबाट फिर्ता हुन थालेका छन् । 

भोटेकोशी बाढीका कारण केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि पर्यटक अर्को नाका हिल्साबाट नेपाल फिर्ता हुन थालेका हुन् । 

रसुवाको केरुङ नाकाबाट प्रवेश गरी चीनको मानसरोवर कैलाशको दर्शन गर्न गएका बाह्य पर्यटक र ट्रेकिङ गाइड हुम्ला जिल्लाको हिल्सा नाकाबाट नेपाल भित्रिन सुरु भएको सशस्त्र प्रहरी बल ४४ नं. गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले बताए । भदौ १० गतेपछि नाकामा यातायात सेवा बन्द हुँदा सयौँ पर्यटक अहिले हिल्साबाट फर्कन थालेको उनले जानकारी दिए । 

पर्यटक भदौ ११ गते १०७ जना र १२ गते १९ जना हिल्साबाट नेपाल प्रवेश गरी गन्तव्यतर्फ लागेका छन् । यस टोलीमा ११ जना नेपाली रहेका छन् । हिल्साबाट फर्कने क्रम शनिबार पनि जारी रहेको र शनिबार मात्र १७ जना सिमकोट आइपुगेका छन् । केरुङबाट प्रवेश गरेका पर्यटक हिल्सा भएर आउन थालेपछि हिल्सा सिमकोट हेलिकोप्टर उडान र नेपालगञ्जबाट सिमकोटका लागि हवाइजहाजका उडान बढेका छन् । 

यस सम्बन्धमा अध्यागमन विभागका सूचना अधिकारी शिवप्रसाद लम्सालले भदौ १० गते बिहान ८ बजेसम्म मात्र ८९ जना केरुङबाट मानसरोवर कैलाशका लागि प्रवेश गरेको बताए । 

यसैबिच भोटेकोशी बाढीपछि देशको विषम परिस्थिति र मानवीय सुरक्षालाई प्राथमिकता राखेर मानसरोवर कैलासका तीर्थयात्रीलाई एक हप्ताका लागि हिल्सा नाकामा निषेधित क्षेत्रको दस्तुर मिनाहा गरिएको अध्यागमन विभागका सूचना अधिकारी लम्सालले बताए । यो मिनाहा रसुवाको केरुङबाट प्रवेश गरेका पर्यटकका लागि मात्र लागु हुने छ ।

प्रतिक्रिया