Listen LIVE

बाँकेका स्थानीय तहका अस्पतालमा जनशक्ति अभाव

नेपालगञ्ज : बाँकेका स्थानीय तहमा १५ शैय्याका आधारभूत अस्पतालका भवन धमाधम निर्माण भइरहे पनि आवश्यक जनशक्ति, उपकरण, औषधी र सञ्चालन खर्चको व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा चुनौती देखिएको छ ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले जिल्लाका अधिकांश स्थानीय तहमा १५ शैय्याका अस्पताल निर्माण अघि बढाइएको हो । केही स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेको छ । भवन तयार भएपछि अस्पताल सञ्चालनको दायित्व स्थानीय तहकै काँधमा पर्ने भएकाले आर्थिक स्रोतको अभाव मुख्य समस्या बनेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । जानकी गाउँपालिकाले १५ शैय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गरिसकेको छ ।

यद्यपि अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र बजेटको व्यवस्था हुन नसकेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उनले भने, 'हामी आफैँले अस्पताल चलाउन सम्भव छैन । बजेट माग गरेका छौँ । बजेट नआए गाउँपालिकाले चलाउने स्थिति छैन ।'

भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिकामा पनि १५ शैय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको छ तर जनशक्ति र उपकरणको अभावमा अस्पताल सञ्चालन हुन सकेको छैन । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सङ्घ र प्रदेश सरकारसँग आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था गरिदिन आग्रह गरिएको बताए ।

गाउँपालिकाको वार्षिक आन्तरिक आम्दानी करिब ४० लाख रुपैयाँ रहेको जनाउँदै उनले भने, '१५ शैय्याको अस्पताल सञ्चालनमा वार्षिक करिब तीन करोड रुपैयाँसम्म खर्च लाग्ने भएकाले स्थानीय स्रोतबाट धान्न कठिन छ ।'

राप्तीसोनारी गाउँपालिकाको नयाँ अस्पताल भवन पनि तयार भइसकेको छ तर सञ्चालन खर्च धान्न स्थानीय स्रोत पर्याप्त नभएपछि दातृ निकायको सहयोग खोजिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

प्रतिक्रिया