Listen LIVE

हुम्लाबाट कांग्रेसका जयपति रोकाया विजयी

हुम्ला : हिमाली जिल्ला हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन् । मतगणना सम्पन्न हुँदा उनले फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार रोकायाले ८ हजार ७९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायालाई १ हजार ५५४ मतान्तरले पराजित गरेका छन् । डा. रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा (एमाले) का दलबहादुर फडेराले ४ हजार ३३१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी लाम्जोमले १ हजार ६४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८ मत र नेकपा (माओवादी) का कुम्भ बुढाले १२८ मत प्राप्त गरेका छन् । निर्वाचनमा ४१६ मत बदर भएको छ ।

हुम्ला जिल्लामा एक अस्थायी केन्द्रसहित ६५ मतदान केन्द्र रहेका छन् । जिल्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।

प्रतिक्रिया