बर्दिया : बर्दियाको गुलरिया नगरपालिकास्थित सर्जु टपरागाउँमा दशकौँदेखि बसोबास गर्दै आएका सुकुमवासी तथा बाढीपीडित परिवारलाई व्यवस्थितरूपमा स्थानान्तरण गरेपछि ११ बिघा सरकारी जमिन खाली गराइएको छ । खाली गरिएको उक्त जग्गामा अहिले औद्योगिक ग्रामको निर्माण काम तीव्र गतिमा अघि बढाइएको छ ।
नगरपालिकाले ५६ सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत नमुना बस्तीमा आवासको व्यवस्था गरेपछि लामो समयदेखि अतिक्रमणमा रहेको सरकारी जमिन फिर्ता लिन सफलता मिलेको हो । पाँच दशकभन्दा बढी समयदेखि खोला किनारमा अस्थायी रूपमा बसोबास गर्दै आएका परिवारलाई नयाँ घर निर्माण गरी पुनस्र्थापित गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत बाढीपीडितका लागि आवास निर्माण कार्यक्रम सञ्चालन गरिएको थियो । गत आवमा २८ र चालु आवमा २८ गरी कुल ५६ वटा घर निर्माण सम्पन्न भइसकेका छन् ।
सर्जु टपरागाउँका ८१ वर्षीय स्थानीय करवीर घर्तीले विगत सम्झिँदै बाढीले घर बगाएको पीडा सुनाए । उनले भने, 'राति एक्कासि आएको बाढीले सबै बगाउँदा घरबारविहीन भएका थियौँ । अहिले घर पाएपछि जीवन सहज भएको छ ।'
यसै गरी स्थानीय राजेश अधिकारीले बस्ती व्यवस्थापनसँगै औद्योगिक ग्राम निर्माणले यो क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, 'यहाँको बस्ती पनि व्यवस्थित भयो र विकासको बाटो पनि खुल्यो ।'
नगरप्रमुख मुक्तिनाथ यादवले सुकुमवासी समस्या जटिल भए पनि सहमतिकै आधारमा बस्ती स्थानान्तरण सम्भव भएको बताए । उनका अनुसार खाली गरिएको ११ बिघा जमिनमा औद्योगिक ग्राम निर्माणको काम अहिले धमाधम भइरहेको छ ।
नमुना बस्तीमा एकै किसिमका घर निर्माण गरिएका छन् । जसमा दुई कोठा, भान्सा र बरन्डा समेटिएको संरचना रहेको छ । पूर्वाधार विकास अन्तर्गत सडक निर्माणलगायतका काम अझै बाँकी रहेको नरेन्द्र थापाले जानकारी दिए ।
घर निर्माणका लागि यस वर्ष नगरपालिकाले ५५ लाख २५ हजार रुपैयाँ र कारितास नेपालले ४२ लाख रुपैयाँ लगानी गरेका छन् । यसअघि पनि नगरपालिकाले वडा नं. ४ का कैलाशनगर र रामपुर टापु क्षेत्रमा करिब तीन सय घर निर्माण गरी नदी किनारमा बसोबास गर्ने परिवारलाई स्थानान्तरण गरिसकेको छ । बस्ती व्यवस्थापन र औद्योगिक पूर्वाधार विकासलाई एकैसाथ अघि बढाइएको यो पहललाई स्थानीय तहको नमुना परियोजनाका रूपमा हेरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार