Listen LIVE

तीन महिनामै ढल्यो कोहलपुर–सुर्खेत प्रसारण लाइनको टावर

नेपालगञ्ज : ठूलो प्रतीक्षापछि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा दुई वटा विद्युत् टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति पुनः प्रभावित बनेको छ।

निर्माण सम्पन्न भएको तीन महिना नबित्दै सामान्य हावाहुरीपछि टावर ढल्न थालेपछि आयोजनाको निर्माण गुणस्तर, प्राविधिक निगरानी तथा पूर्वतयारीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार केही दिनअघि आएको हावाहुरीका क्रममा रुख ढलेर टावरमा क्षति पुगेको थियो। शनिबार थप दबाब सिर्जना भएपछि दुई वटा टावर पूर्ण रूपमा ढलेका हुन्। टावर ढलेसँगै १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। लाइन बन्द भएपछि सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति पुनः अनियमित बनेको छ। प्राधिकरणले वैकल्पिक प्रणालीमार्फत सीमित विद्युत् आपूर्ति गर्ने प्रयास भइरहेको जनाएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने उद्देश्यसहित निर्माण गरिएको राष्ट्रिय गौरवको महत्त्वपूर्ण पूर्वाधार आयोजना हो। बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म करिब ७५ किलोमिटर क्षेत्रमा फैलिएको उक्त प्रसारण लाइन निर्माणका लागि करिब एक दशकभन्दा बढी समय लागेको थियो।

आयोजनाको अवधिभर जग्गा अधिग्रहण विवाद, वन क्षेत्रको अनुमति, ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण पटक–पटक समय थप गरिएको थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा आयोजनाको लागतसमेत उल्लेख्य रूपमा बढेको थियो।

निर्माण सम्पन्न भएको छोटो अवधिमै टावर ढलेपछि आयोजना निर्माणमा प्रयोग भएका सामग्री, डिजाइन मापदण्ड र प्राविधिक परीक्षण प्रक्रियामाथि स्वतन्त्र छानबिन हुनुपर्ने माग समेत उठ्न थालेको छ।

प्रतिक्रिया