Listen LIVE

‘मिस अर्थ’ को फिनाले आज, नेपालको बलियो दाबेदारी

काठमाण्डौ : विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस अर्थ’को २५ औं संस्करणको ग्रान्ड फिनाले नेपाली समयानुसार आज अपरान्ह फिलिपिन्सको मनिलामा आयोजना हुँदैछ ।

मिस नेपाल अर्थ सोनी घलेले प्रतिस्पर्धामा सहभागिता जनाएकी छन् । अहिलेसम्म उनको उपस्थिती प्रारम्भिक चरणमा सशक्त देखिएको छ । ट्यालेन्ट राउन्डमा त उनले स्वर्ण जितिन् ।

अब प्रश्न आउँछ– के सोनी सेमिफाइनलमा प्रवेश गरेर ७ वर्षअघिको इतिहास दोहो¥याउलिन ?

यो सम्भावना बलियो छ । किनभने, मतदानको आधारमा तय हुने विधा ‘मिस पिपुल च्वाइस्’मा नेपाल बलियो देखिएको छ । बुधबार बिहान यो विधाको शीर्षस्थानमा पुगेको नेपाल दिउँसो १ बजेसम्म दोस्रो स्थानमा छ ।

तीव्ररुपमा सूची अपडेट भैरहेकाले अन्तिम समयसम्म के हुन्छ भनेर अनुमान गर्नु अझै हतारो हुनेछ । ‘मिस पिपुल च्वाइस’को शीर्षस्थानमा मेक्सिको, दोस्रोमा नेपाल र तेस्रोमा अस्ट्रेलिया छ ।

ब्युटी पेजेन्टसम्बन्धी अपडेट राख्ने पोर्टल मिसोलोजीले त नेपाल अन्तिम १८ मा अटाउन सक्ने प्रक्षेपण गरेको छ । यो नतिजाबारे थाहा पाउन त बेलुकासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

रसुवाको धुन्चे घर भएकी २५ वर्षिया सोनी अस्ट्रेलियाबाट फर्किएकी हुन् । उनी खो खो खेलाडी र बडि बिल्डर पनि हुन् । उनी मिस नेपाल अर्थ २०२५ की विजेता समेत हुन् ।

वातावरण सम्बन्धी यो सौन्दर्य प्रतियोगितामा यस संस्करणमा ७८ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया