Listen LIVE

नेपालगञ्जमा 'शोषणमुक्त क्षेत्र' परियोजना शुरु हुँदै

नेपालगञ्ज : नेपालगञ्जमा बालबालिकालाई सबै प्रकारका शोषणबाट मुक्त गर्ने उद्देश्यले 'शोषणमुक्त क्षेत्र' परियोजना सञ्चालन गर्न लागिएको छ । परियोजनाको सुरुवाती चरणमा पाइलटिङका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ लाई छनोट गरिएको छ ।

फ्री अ गर्ल नेदरल्याण्डसको सहयोगमा माइती नेपालले नेपालग ञ्जमा परियोजना सञ्चालन गर्न लागेको हो । परियोजनाबारे सरोकारवालालाई जानकारी गराउने तथा कार्यान्वयनका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले माइती नेपाल नेपालगञ्जको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा माइती नेपालकी अनु डंगोलले परियोजनाको संरचना, अवधि, कार्यक्षेत्र, उद्देश्य तथा कार्यान्वयन प्रक्रिया लगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । माइती नेपालका प्रदीप बास्तोलाले कार्यक्रमको उद्देश्य तथा परियोजनाको आवश्यकतामाथि प्रकाश पारेका थिए ।

सहयोगी संस्थाकी कृटिना रैनाले नेपालगन्जसहित नेपालका चार वटा स्थानीय तहमा परियोजना सञ्चालन भइरहेको जानकारी दिँदै बालबालिकामाथि हुने शोषण न्यूनीकरण तथा रोकथामका लागि विभिन्न सरोकारवाला निकायलाई समेटेर प्रभावकारी संयन्त्र निर्माण गरी काम गरिने बताइन् । कार्यक्रममा परियोजनाकी रितु भट्ट राईले सहजीकरण गरेकी थिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका मानव बेचबिखनका दृष्टिले स्रोत, गन्तव्य र आवागमनका लागि प्रयोग हुने क्षेत्र गरी तीनै प्रकारबाट प्रभावित रहेको विभिन्न घटनाक्रमले देखाएकाले परियोजनाका लागि नेपालगञ्जलाई छनोट गरिएको माइती नेपालकी डंगोलले बताइन् । उनका अनुसार बालबालिकालाई शोषण, बेचबिखन तथा जोखिमपूर्ण अवस्थाबाट जोगाउन स्थानीयस्तरमै समन्वय, निगरानी र सचेतनाका गतिविधिलाई प्रभावकारी बनाइनेछ ।

परियोजनाले बालबालिकामाथि हुने शोषणको जोखिम पहिचान, रोकथाम तथा न्यूनीकरणसँगै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, समुदाय र अन्य सरोकारवालाबीच समन्वयलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।

कार्यक्रमको समापन नेपालगञ्ज उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आशा शाहीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले गरेका थिए ।

प्रतिक्रिया