नेपालगञ्ज : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाँकेको खजुरा गाउँपालिका –७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइतबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खत्रीले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, पूर्वाधार, जनशक्ति तथा भावी आवश्यकताबारे जानकारी लिँदै प्रदेश सरकार अस्पतालको विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि सकारात्मक रहेको बताए ।
उनले अस्पतालले पश्चिम नेपालको मात्रै नभइ देशका विभिन्न जिल्लाबाट आउने क्यान्सर बिरामीलाई सेवा दिइरहेको उल्लेख गर्दै यस्तो महत्वपूर्ण स्वास्थ्य संस्थाको विकासमा प्रदेश सरकार जिम्मेवार भएर अघि बढ्ने बताए ।
उनले प्रदेश सरकारले अस्पताललाई देखिने, प्रभावकारी र दीर्घकालीन लाभ पुग्ने योजना उपहारका रूपमा उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए । अस्पतालको आवश्यकताको आधारमा पूर्वाधार निर्माण, सेवा विस्तार तथा अन्य सहयोगका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ ।
अनुगमनका क्रममा अस्पतालका निर्देशक डा. निरज भट्टराईले अस्पतालको वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे मन्त्री खत्रीलाई जानकारी गराएका थिए । उनले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल क्यान्सर उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पताल भए पनि पर्याप्त जनशक्ति, स्रोत–साधन र बजेटको अभावबिच सेवा सञ्चालन गर्नुपरेको बताए ।
निर्देशक भट्टराईका अनुसार अस्पताल १०० शय्याको स्वीकृति प्राप्त भए पनि हाल आवश्यक जनशक्ति र स्रोत अभावका कारण ७० शय्या मात्र सञ्चालनमा रहेको छ । अस्पतालमा कार्यरत अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी अस्थायी तथा ज्यालादारी व्यवस्थाबाट सेवा दिइरहेका छन्, जसले दीर्घकालीन रूपमा सेवा प्रवाहमा चुनौती सिर्जना गरिरहेको उनले बताए ।
अनुगमनका क्रममा मन्त्री खत्रीले अस्पतालका विभिन्न वार्ड, उपचार कक्ष, प्रयोगशाला, रेडियोथेरापी तथा अन्य सेवा इकाइको अवलोकन गर्दै उपचाररत बिरामीका आफन्तसँग कुराकानी गरेका थिए । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठुलो संख्यामा क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार