Listen LIVE

पुष्पसदनले अन्तरविद्यालय चेस प्रतियोगिता गर्दै

ललितपुर : कीर्तिपुरमा अवस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालयस्तरीय चेस तथा टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ। 

विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुस २७ देखि २९ गतेसम्म पुष्पसदन अन्तर्राष्ट्रिय अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिता–२०२५ आयोजना गर्ने जानकारी दिएको हो। 

यस्तै, आगामी माघ २४ देखि २६ गतेसम्म विभिन्न उमेर समूहमा  काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय टेबुल–टेनिस प्रतियोगिता आयोजना गर्ने पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए। 

आगामी २७ गतेबाट ३ दिनसम्म पुष्पसदनकै विद्यालय परिसरमा हुने बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३ सयजना खेलाडीको सहभागिता रहने विद्यालयका अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरिएको थियो। 

जसमा सिक्किमबाट १० जना खेलाडीको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए। प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उनले बताए। 

उनका अनुसार नेपाल बाहिरबाट सहभागी हुन आउने खेलाडीहरूलाई दर्ता शुल्कमा समेत सहुलियत प्रदान गर्नेछ।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा ११ वर्ष मुनि, १३ वर्ष मुनि , १५ वर्ष मुनिका उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन्।

१०औँ स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीहरूलाई स्वर्ण, रजत तथा कांस्य पदक तथा प्रमाणपत्र दिइनेछ भने विजेता तथा उपविजेता विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका खेलकुद संयोजक एवं प्रतियोगिता संयोजक राजु लामाले जानकारी दिए। 

पुष्पसदनले टेबल टेनिस, बास्केटबल, बुद्धिचाल लगायतका खेलको कीर्तिपुर नगरस्तरीयदेखि लिएर उपत्यकाव्यापी तथा राष्ट्रिय स्तरसम्मको अन्तर्विद्यालय तथा खुल्ला प्रतियोगिता संचालन गर्दै आएको विद्यालयका प्रिन्सिपल आरडी राईले जानकारी दिए।

प्रतिक्रिया