Listen LIVE

गोदावरी अन्तरविद्यालय सेभेन ए साइड फुटबल हुँदै

ललितपुर : दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदै छ। 

श्री ज्ञान कुण्ड युवा क्लब लेलेको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। 

अघिल्लो सस्करण फाइभ ए साइड भए पनि यसपालि भने सेभेन ए साइड बनाइएको क्लबका कार्यबाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए।

’प्रतियोगिता एउटै भए पनि खेलाउने स्थान र तरिका परिवर्तन गरिएको छ’, उनले भने, ’अघिल्लो संस्करण गोदावरीमै गरिएपनि यसपाली ढोलाहिटीस्थित विनायक स्र्पोट्स कम्प्लेक्स गरिन लागिएको छ।’ 

आयोजकले तयारी पूरा भएको जानकारी गराउँदै आइतबारै टाइसिट पनि ड्र गरिएको थियो।  १७ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ।

समूह बीमा ५ टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम रहेका छन्। लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने  पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए। 

नगरपालिकाभित्रका विद्यालयहरुमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्वखेलाडी पनि रहेका दीपक श्रेष्ठले जानकारी दिए।

यसैगरी, गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाअध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरु सधैँ तयार रहेको प्रतिवद्धता जनाए।

१७ वटा टिमको समूह विभाजन अनुसार समूह ए मा इन्द्रेणी स्कुल, टिका भैरव बोर्डिङ स्कुल, एभरेष्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल रहेका छन्। 

समूह बी मा नेवा स्कुल, बशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रीला स्कुल रहेका छन्। इसैगरी समूह सी मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ती स्कुल र बाल अंकुर स्कुल परेका छन्। 

समूह डी मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ रहेका छन्। प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतिक्रिया