Listen LIVE

दशैं नजिकिएसँगै नेपालगञ्जका मूर्तिकार व्यस्त

नेपालगञ्ज : नेपालीको महान् चाड दशैं नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म यतिबेला विभिन्न देवीदेवताका आकर्षक माटाका मूर्ति देखिन थालेका छन् ।

तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा रहेकाले मूर्तिकारलाई दशैंअघि काम सक्ने चटारो परेको हो । नेपालगञ्जमा मूर्तिकार तथा उनका सहयोगी दिनरात नभनी मूर्ति निर्माण, साजसज्जा र रङरोगनमा व्यस्त छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का अकिंत मिश्र एक महिना अघिदेखि नै दुर्गा भवानीका मूर्ति बनाउन व्यस्त छन् । मूर्तिले आकार लिइसकेपछि अहिले उनीसहितका सहयोगी साजसज्जा र रङरोगनमा जुटेका छन् । पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी तयार पारिएका मूर्तिमा देवीदेवताका वाहन तथा अस्त्रशस्त्र सजाउने काम अन्तिम चरणमा पुगेको मिश्रले बताए ।

'दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेयसँगै बाघ, मुसा, राँगा र सर्पका आकृति तयार भइसकेका छन्,' उनले भने, 'ग्राहकले एक महिनाअघिदेखि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।' मूर्ति सजावटका सामग्री तथा आवश्यक औजार भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याउने गरिएको उनले बताए ।

नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि यतिबेला माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका वंसकारले सडक किनारको अस्थायी टहरामा सयौँ मूर्ति तयार पारिरहेका छन् । उनका अनुसार एउटा मूर्ति २० हजारदेखि २५ हजारसम्ममा बिक्री हुने गरेको छ । एउटा मूर्तिबाट करिब रु चार हजारदेखि पाँच हजारसम्म नाफा हुने उनी बताउँछन् ।

वंसकारले आफूले मात्र नभई अन्य छ जनालाई समेत रोजगारी दिनुभएको छ । उनका अनुसार कामदारलाई १० हजारदेखि २० हजारसम्म पारिश्रमिक दिने गरिएको छ । मूर्तिकारहरूका अनुसार संगठित सङ्घसंस्थाको अभाव तथा मूर्तिको मूल्य निर्धारणका लागि निश्चित दररेट नहुँदा व्यवसाय सञ्चालनमा केही समस्या छ ।

एउटै प्रकृतिका मूर्तिको मूल्यसमेत ग्राहक, आकार र सजावट अनुसार फरकफरक हुने गरेको छ । नियमित तथा चिनेजानेका ग्राहकलाई छुट दिँदा कतिपय अवस्थामा लागत अनुसारको मूल्यसमेत नपाउने अवस्था रहेको वंसकारले बताए । बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दशैंको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ ।

विभिन्न टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा व्यक्तिगत खर्चमा नवदुर्गा भवानीका मूर्ति स्थापना गर्ने गरिन्छ । स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार टोलमा देवीको मूर्ति स्थापना भएसँगै बगियामा रामलीला सुरु हुने र त्यसपछि दशैंको रौनक थप बढ्ने गरेको छ । 'मूर्ति स्थापना र रामलीला यहाँको दशैंसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा हो,' उनले भने ।

नवरात्रभर विधिवत् पूजाअर्चना गरिएका मूर्ति दशैंको भोलिपल्ट बाजागाजासहित नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने गरिन्छ । यससँगै नेपालगञ्ज र आसपासका क्षेत्रमा दशैंको धार्मिक तथा सांस्कृतिक गतिविधिले थप गति लिने गरेको छ ।

प्रतिक्रिया