नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकावासीका लागि गुणस्तरीय स्वास्थ्य सेवामा नयाँ आयाम थपिने भएको छ । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युट बीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै राप्तीसोनारी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको मार्ग खुलेको हो ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, अस्पताल विकास समितिका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिनराज खड्का र निक साइमन्स इन्स्टिच्युटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त समझदारीसँगै परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
परियोजना अन्तर्गत राप्तीसोनारी अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा विस्तार गरिनुका साथै आमा सुरक्षा कार्यक्रम अन्तर्गत शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिने भएको छ । यस सेवाको सञ्चालनपछि जटिल प्रसूति भएका गर्भवती महिलाले सामान्य शल्यक्रियाका लागि नेपालगञ्ज वा अन्य अस्पताल धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।
अस्पताल प्रशासनका अनुसार विशेषज्ञ जनशक्ति व्यवस्थापन, आवश्यक उपकरण जडान, पूर्वाधार सुदृढीकरण तथा सेवा सञ्चालनका सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १ गतेदेखि सेवा सञ्चालन गर्ने लक्ष्यका साथ अन्तिम तयारी तीव्ररूपमा भइरहेको जनाएको छ ।
यस परियोजनाले राप्तीसोनारी गाउँपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई आफ्नै नजिकबाट विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । विशेषगरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने, समयमै उपचार पहुँच सुनिश्चित् गर्ने तथा सुरक्षित मातृत्वलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारबीचको सहकार्यबाट सञ्चालनमा आउन लागेको यो सेवा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले स्थानीय नागरिकलाई सहज, सुलभ, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा नयाँ विश्वास स्थापित गर्ने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार