Listen LIVE

माटोको फिल्टर उत्पादनबाट मनग्य आम्दानी गर्दै लिलाराम

दाङ : दाङमा अधिकांश घरमा आधुनिक बिजुली फिल्टर चलाइरहेका भए पनि परम्परागत सीपलाई आधुनिक स्वरूप दिँदै माटोको फिल्टर बनाएर आम्दानी गर्ने व्यक्तिहरू छन्। गढवा गाउँपालिका–६, गढवा निवासी लिलाराम कुमाल विगत १५ वर्षदेखि माटोको पानी छान्ने फिल्टर बनाउँदै आम्दानी गरिरहेका छन् ।

सुरुमा पाला, घैंटा, भुर्की, गमला जस्ता परम्परागत भाँडा बनाउँदै आएका कुमालले बजारको मागअनुसार विगत १५ वर्षदेखि फिल्टर उत्पादन गर्दै आएका हुन् । माटोको फिल्टर सस्तो, स्वास्थ्यप्रद र ग्रामीण–सहर बजारमा माग हुने भएकाले व्यापार राम्रो भइरहेको उनले बताए।

कुमालले वार्षिक करिब दस लाख रुपियाँ मूल्यको फिल्टर उत्पादन गरी बिक्री गर्दै आएका छन् । गर्मी मौसममा माग बढ्ने हुँदा वर्षमा एक हजारभन्दा बढी फिल्टर बिक्री हुने गरेको बताउनुभयो। तयार भएका फिल्टर दाङका बजारसँगै बुटवल, कोहलपुर र सुर्खेतमा पनि बिक्री हुने गरेको छ। एक फिल्टरको मूल्य करिब एक हजार रुपैयाँ छ।

माटोको फिल्टरको माग बढ्दै गएपछि उनले दुई जनालाई रोजगारी दिएका छन् । जसलाई महिनामा ३७ हजार रुपैयाँ तलब दिइन्छ। तर भाँडा बनाउन आवश्यक पर्ने माटो र दाउरा संकलनमा समस्या देखिएको छ। सामुदायिक वनहरूले माटो संकलन र दाउरा प्रयोगमा कडाइ गरेकाले सामग्री जुटाउन कठिनाइ भएको उनले बताए।

गढवा गाउँपालिकाले परम्परागत माटो उद्योगको संरक्षण र प्रवद्र्धनका लागि …सेरामिक हबÚ स्थापना गर्ने तयारी गरेको छ। अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार, गढवाको पहिचान नै माटोका भाँडा भएकाले परम्परागत सीपलाई प्रविधिसँग जोडेर दिगो उद्यममा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ। यसका लागि नयाँ प्रविधि, सीप हस्तान्तरण तालिम र छात्रवृत्ति कार्यक्रम समेत सञ्चालन गरिएको बताए।

प्रतिक्रिया