Listen LIVE

कञ्चनपुरबाट लामो दुरीका बस सेवा बन्द

कञ्चनपुर : कञ्चनपुरका विभिन्न स्थानबाट छुट्ने लामो दुरीका यातायातका साधन बन्द रहेका छन् । 

भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दे लामो दुरीका सार्वजनिक बस सेवा आइतबारसम्म सञ्चालन नगर्ने यातायात व्यवसायीहरूले जनाएका छन् । 

यातायात व्यवसायीहरूले महेन्द्रनगर तथा बेलौरीबाट छुट्ने लामो दुरीका बस सेवा बन्द गरिएको जनाएका हुन् ।  

शुक्रवारदेखि आइतबारसम्म लामो दुरीका बस सेवा सेवा बन्द गरिएको यातायात व्यवसायी डम्बर पन्तले बताए । मौसममा सुधार नआएसम्म लामो दुरीका यातायातका साधनहरू बन्द रहने व्यवसायीहरू बताउँछन् । 

यातायात व्यवसायीहरूले लामो दुरीका बस सेवा सञ्चालन नगर्ने निर्णय गरेपछि कञ्चनपुर आउने तथा महेन्द्रनगर हुँदै काठमाडौँ, पोखरा, प्युठान लगायत पूर्वतर्फ जाने तथा सुदूरपश्चिमका पहाडी जिल्ला जाने यात्रुहरू प्रभावित भएका छन् ।

विपद्को समयमा अनावश्यक यात्रा नगर्न तथा सुरक्षित स्थानमा बस्न समेत यातायात व्यवसायीहरूले आग्रह गरेका छन् । 

यद्यपि, छोटो दुरीमा चल्ने बस सेवा भने सञ्चालनमा रहेको यातायात व्यवसायीहरूको भनाइ छ । जिल्लामा शुक्रबारदेखि नियमितरूपमा सामान्य वर्षा भइरहेको छ । यहाँका नदी, खोलाहरुको जलस्तर पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया