दाङ : दाङको घोराहीमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन छाडेपछि उपभोक्ता समस्यामा परेका छन् । उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको दाबी गरिए पनि बजारमा उपभोक्ताले समयमै सिलिन्डर नपाउँदा दैनिक जीवन प्रभावित बनेको छ ।
घोराही उपमहानगरपालिका–१८, फुर्सेखालीमा डेरा गरी बस्दै आएका रोल्पाको लुङ्ग्री गाउँपालिका–८, बडाचौर निवासी दिल पुनमगरले ग्यास सकिएको आठ दिन बितिसक्दा पनि नयाँ सिलिन्डर पाउन नसकेको गुनासो गरे । उनले घोराही–१४ नयाँबजारस्थित एक ग्यास डिलरमा नाम दर्ता गराएको छ दिन बितिसक्दा पनि पालो नआएको बताए । उनका अनुसार पटक पटक पसल धाउँदा पनि ग्यास उपलब्ध नभएपछि होटेलमा खाना खानुपर्ने बाध्यता छ । 'ग्यास आएपछि दिन्छौँ भन्ने जवाफ मात्रै पाइन्छ तर कहिले आउँछ भन्ने जानकारी हुँदैन,' उनले भने ।
घोराही–१५, भरतपुर निवासी पवित्रा केसीले पनि ग्यास अभावका कारण समस्या भोग्नु परेको बताइन् । पहिले फोन गरेकै भरमा घरमै ग्यास आइपुग्ने व्यवस्था भए पनि अहिले पसलमा पटक पटक पुग्दा पनि सिलिन्डर नपाइने अवस्था रहेको उनको भनाइ छ । ग्यास अभाव भएपछि छिमेकीसँग खाना पकाउनुपर्ने अवस्था आएको उनले सुनाइन् । घोराहीका धेरै उपभोक्ताले पछिल्ला दिनमा खाना पकाउने ग्यास सहज रूपमा नपाएको गुनासो गरेका छन् ।
यता घोराही–१४, ट्राफिक चोकका ग्यास व्यवसायी कृष्णप्रसाद घिमिरेले उद्योगबाट ग्यास आइरहेको र प्राप्त हुने सबै सिलिन्डर नियमित रूपमा वितरण भइरहेको दाबी गरे । उनका अनुसार माग अनुसार आपूर्ति हुन नसके पनि गत महिनाको तुलनामा ग्यासको परिमाणमा कमी आएको छैन ।
'हामीले उद्योगबाट आएको सबै ग्यास उपभोक्तालाई वितरण गरिरहेका छौँ तर बजारमा अभाव किन देखियो भन्ने विषय हामीलाई पनि अन्योलकै विषय बनेको छ,' उनले भने । चालु आर्थिक वर्षको साउन महिनामा हालसम्म करिब सात सय सिलिन्डर ग्यास बिक्री गरिसकिएको उनले जानकारी दिए । बजारमा ग्यास अभावको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका, नेपाल आयल निगम र नेपाल प्रहरीको संयुक्त टोलीले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको देखिए पनि वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिति संयोजक सावित्रा पुनले बताइन् । उनका अनुसार कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमा राख्ने प्रवृत्ति तथा वितरण व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
त्यसलाई व्यवस्थित बनाउन ग्यास डिलरलाई प्राप्त भएको सिलिन्डरको सङ्ख्या, वितरण भएका सिलिन्डर, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र एकै व्यक्तिलाई दिइएको सिलिन्डरको अभिलेख अनिवार्य रूपमा राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताइन् । प्रशासनले वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर कृत्रिम अभाव हुन नदिने गरी अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार