नेपालगञ्ज : गर्मीयाम सुरु भएसँगै बढ्दो आगलागीको जोखिमलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले गृहिणी महिलालाई लक्षित गरी घरायसी आगो नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ ।
सुपर परियोजनाअन्तर्गत वडा ३ र ७ का ४० जना सामुदायिक आपतकालीन प्रतिकार्य समूहका महिला सदस्यहरूको सहभागितामा तालिम आयोजना गरिएको हो ।
दैनिकजसो भइरहेका आगलागीका घटनालाई न्यूनीकरण गर्ने तथा सम्भावित क्षति कम गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखाका प्रमुख झयनबहादुर खड्काका अनुसार नेपालगञ्जको वडा ३ र ७ निकै पुरानो बस्ती भएको र सो क्षेत्र आगलागिको उच्च जोखिममा रहँदै आएकोले उक्त क्षेत्रका गृहिणी महिलाहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको हो ।
उनले सो तालिममा आगो निभाउने प्रभावकारी उपाय, घरमै उपलब्ध सामग्री प्रयोग गरेर आगो नियन्त्रण गर्ने तरिका तथा अपनाउनुपर्ने र नअपनाउनुपर्ने सावधानीबारे व्यवहारिक ज्ञान प्रदान गरिएको बताए ।
बाँकेका विपद सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सुपर परियोजनाअन्तर्गत तयार गरिएका ४०० स्वयंसेवकमध्ये ४० जनालाई विशेषरूपमा घरायसी आगो नियन्त्रण सम्बन्धी सीप प्रदान गरिएको जानकारी दिए ।
उनले आगलागी हुँदा दमकल पुग्न नसक्ने ठाउँ र पुग्न ढिलो हुने अवस्थामा यस्ता तालिमप्राप्त स्वयंसेवकहरूले समुदायमै तत्काल प्रतिक्रिया जनाई क्षति न्यूनीकरण गर्न सक्ने बताए ।
त्यस्तै, वडा ६ का वडा अध्यक्ष तथा सुपर परियोजना संयोजक समिर प्रताप सिंहले तालिमले समुदायस्तरमै आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार घरको भान्साबाट हुने आगलागीका घटनालाई कम गर्न तथा जोखिम न्यूनीकरणमा यस्तो तालिम प्रभावकारी हुने विश्वास गरिएको छ ।
तालिममा सहभागि गृहिणी महिलाहरुले तालिमबाट आगलागि रोक्ने तथा आगलागि बढ्न नदिने र नियन्त्रण गर्ने धेरै तरिकाहरु सिकेको बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार