बर्दिया : बबई नदीमा आउने बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न गुलरिया नगरपालिकाले जोखिमयुक्त बस्तीमा बाढी सूचना प्रणाली अन्तर्गत पूर्वसूचना प्रणाली जडान गरेको छ ।
नगरपालिकाले बाढीको पूर्वसूचना समयमै प्रवाह गरी स्थानीयलाई सुरक्षित स्थानमा जान सहज बनाउने उद्देश्यले वडा नं. ४ को सानो बेचेपुर, वडा नं. ८ को गङ्गानगर र वडा नं. १२ को भैँसाहीमा सो मेसिन जडान गरेको हो ।
नगरपालिकाका अनुसार बबई नदीमा पानीको सतह बढेपछि साइरन बजाएर जोखिममा रहेका बासिन्दालाई तत्काल सचेत गराइने व्यवस्था गरिएको छ । यसबाट बाढी आउनुअघि नै स्थानीय सुरक्षित स्थानमा सर्न सक्ने र सम्भावित क्षति कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
गुलरिया नगरपालिका–४, बगहीगाउँका स्थानीय राजन थारूले बाढीको पूर्वसूचनाका लागि जडान गरिएको मेसिनले जोखिमबारे समयमै जानकारी दिने भएकाले स्थानीयलाई सुरक्षित हुन मद्दत पुग्ने बताए ।
त्यसै गरी वडा नं. १२ भैसाहीका स्थानीय जगमोहन थारूले बबई नदीमा बाढी आएपछि गाउँमा जोखिम बढ्ने भएकाले समयमै सूचना दिने प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
बबई नदीको बाढीबाट गुलरिया नगरपालिका–२ को पण्डितपुर, वडा नं. ४ को बेचेपुर र सानो बेचेपुर, वडा नं. ५ को बालापुर, वडा नं. ६ को आनन्दनगर, वडा नं. ८ को पर्सिया, वडा नं. ९ को डब्बा, वडा नं. १० को रत्नापुर, वडा नं. ११ को भादापुरवा तथा वडा नं. १२ को भैसाहीलगायतका बस्ती उच्च जोखिममा पर्ने गरेका छन् ।
गुलरिया नगरपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख मुकुन्द अर्यालले बाढीबाट हुने क्षति न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन जोखिमयुक्त स्थानमा मेसिन जडान गरिएको बताए । उनका अनुसार पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन भएमा विपत्का बेला जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने अपेक्षा गरिएको छ ।
बबई नदीमा २०७१, २०७४ र २०७९ सालमा आएको बाढीले ठुलो क्षति पु¥याएको थियो । ती बाढीमा एक दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने सयौँ परिवार विस्थापित भएका थिए । विगतका ती घटनालाई हेरेर नगरपालिकाले पूर्वतयारीका उपायलाई प्राथमिकतामा राखेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार