Listen LIVE

देश र जनतालाई सर्वोपरि राख्नेछु : ईश्तियाक राई

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नव निर्वाचित  नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले देश र जनतालाई सर्वोपरि राखेर काम गर्ने जनाएका छन् ।

विजयी भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले रास्वपाको यस्तो लहरको बेलामा पनि आफुलाई जनताले जिताउनु भनेको यो क्षेत्रको समग्र विकास र सद्भावलाई जिताएको बताए ।

उनले आफुले विगतमा धेरै विकास निर्माणका काम गरेकाले नै यस्तो अवस्थामा पनि बाँके २ का जनताले आफुलाई यति धेरै माया गरेर जिताएको जनाउँदै जनताको चाहना र विश्वासलाई कहिले पनि कमजोर हुन नदिने बताए ।

पूर्वमन्त्री राईले आफुले जनतासमक्ष गरेका सबै प्रतिवद्धता र वाचा क्रमशः पूरा गर्दै जाने तथा विकासका बाँकी रहेका कामहरुलाई पनि निरन्तरता दिने कुरा फेरि पनि दोहोर्याए ।

तेस्रो पटक सांसदमा विजयी भएका राई यसअघि मधेशी जनअधिकार फोरम र जनता समाजवादी पार्टीबाट दुई पटक विजयी भइसकेका थिए । उनी अहिलेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनुभन्दा एक दिनअघि नेकपा एमालेमा प्रवेश गरेर सो पार्टीबाट उम्मेदवार बनेका थिए ।

यसअघि उनी तीन पटक विभिन्न सङ्घीय मन्त्रालयमा मन्त्रीसमेत भइसकेका छन् ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेक कुमार श्रेष्ठलाई पाँच हजार ९४६ मतले पराजित गरेर तेस्रो पटक सांसदमा विजयी भएका हुन् । उनले २४ हजार ६२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले तेस्रो स्थानमा रहँदै १७ हजार ५९६ मत प्राप्त गरे । सो क्षेत्रबाट उम्मेदवार भएका नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र विष्टले एक हजार ४५६, राप्रपाका ऋषिराज देवकोटाले एक हजार ७२३, जनता समाजवादी पार्टी नेपालका कमरुद्दीन राईले ९०८ र राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेषले ७७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रवक्ता लाल बहादुर कार्कीले बताए ।

उनका अनुसार बाँके क्षेत्र नम्बर २ बाट २० जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया