Listen LIVE

ला लिगामा बार्सिलोनाको पुनरागमन जित

काठमाण्डौ : राफिन्हा र फर्मिन लोपेजेले दोस्रो हाफमा गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई उसैको मैदानमा २–१ गोलअन्तरले हराएको हो ।

युरोपियन च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा इन्टरसँग ३–३ को बराबरी खेलेको टिममा हान्सी फ्लिकले ९ खेलाडी परिवर्तन गर्दै भाल्लाडोलिड विरुद्ध मैदान उतारेका थिए ।

१–० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बार्सिलोनालाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका राफिन्हा र पहिलो रोजाईँमै खेलेका फर्मिनो लोपेजले १–१ गोल गरे । घरेलु टोलीका लागि इभान सान्चेजले गोल गरे ।

जितपछि लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ७ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ  ।

खेलको छैटौं मिनेटमै इभानले गोल गर्दै भाल्लाडोलिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्कायो ।

राफिन्हाले ५४औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि नै फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै बार्सिलोनाले ३ अंक जोडेको हो ।

जितपछि शीर्षस्थानको बार्सिलोनाको ३४ खेलमा ७९ अंक भएको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल मड्रिडको ३३ खेलमा ७२ अंक छ ।

२०औं स्थानमा रहेको भालाडोलिडको ३४ खेलमा १६ अंक छ ।

प्रतिक्रिया