Listen LIVE

भारतबाट ल्याउँदै गरेको अवैध ४५ क्विन्टल तोरी बरामद

बर्दिया : बर्दियामा प्रहरीले भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको ४५ क्विन्टल तोरी सहित आटो र अटो  चालक पक्राउ गरेको छ । भारतबाट तोरी ल्याउँदै गरेको अवस्थामा सो तोरी गुलरिया नगरपालिका वडा नं ११ भादापुल स्थित सिमानाकाबाट पक्राउ गरिएको हो । 

लुम्बिनी प्रदेश प्रहरी दाङ र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको तोरी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको छ । प्रहरीले ४५ क्विन्टल तोरी, अटो ८ ओटा, मोटरसाइकल एक थान र ९ जना मानिस पक्राउ गरेको जनाएको  छ । पक्राउ परेका समानको अन्दाजी बजार मूल्य १६ लाख ८० हजार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले बताए । 

पक्राउ पर्नेमा मोटरसाइकल सहित गुलरिया नगरपालिका वडा नं १० बस्न ५० वर्षीय ल्याकद अली रहेका छन् भने अटो सहित पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीय नसिम मनिहार, ६० वर्षीय बराती मनिहार, २४ वर्षीय राजा मनिहार, ३२ वर्षीय शकिल मनिहार, २८ वर्षीय जाबेत अहमल जोहाल, ४० वर्षीय जाहित अलि अन्सारी, ४३ वर्षीय अनिप मनिहार र गुलरिया नगरपालिका ९ बस्ने २० वर्षीय आलिक तेली रहेका छन् । 

पक्राउ परेका सामानसहित उनीरूलाई आवश्यक अनुसन्धानका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया