Listen LIVE

नेपालगञ्ज भन्सारबाट सात महिनामा ४४ अर्बभन्दा बढी आयात

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विभिन्न १८ देशबाट ४४ अर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ। भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार सो अवधिमा भारतलगायत १८ देशबाट कुल ४४ अर्ब ५४ करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिएको हो।

देशअनुसार आयातको विवरणमा सबैभन्दा बढी आयात भारतबाट भएको छ। भारतबाट मात्रै ४१ अर्ब ५ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको छ। त्यसैगरी चीनबाट २ अर्ब ५२ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार कार्यालयले जनाएको छ।

भारत र चीनबाहेक अस्ट्रेलिया, इटाली, मलेसिया, अमेरिका, डेनमार्क, स्पेन, इन्डोनेसिया, साउदी अरब, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, श्रीलङ्का र भियतनामलगायत अन्य देशबाट समेत मालसामान आयात भएको छ।

उक्त अवधिमा नेपालबाट भने दुई देशमा मात्रै निर्यात भएको छ। कुल १ अर्ब ६३ करोड २० लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ। जसमध्ये भारततर्फ १ अर्ब ६३ करोड ५ लाख ५४ हजार रुपैयाँ र संयुक्त अरब इमिरेट्सतर्फ १५ लाख १४ हजार रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ।

आयातको तुलनामा निर्यात न्यून हुँदा चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा ९६.४१ प्रतिशत पुगेको भन्सार प्रमुख पौडेलले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९६.४२ प्रतिशत रहेको थियो।

प्रतिक्रिया