Listen LIVE

उपभोक्ता हितसम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जका उपभोक्ता तथा उद्योगी र व्यवसायीहरूलाई उपभोक्ता हितसम्बन्धी सचेतना अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । नेपालगञ्जमा आयोजना गरिएको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमनसम्बन्धी आमउपभोक्ता र उद्योगी व्यवसायीहरूलाई अन्तरक्रिया कार्यक्रममार्फत सचेतना दिइएको हो । 

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रमुख तथा प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।

पछिल्लो समयमा बजारमा विभिन्न किसिमका खाद्य वस्तुमा मिसावट हुने, सडेगलेका वस्तुको खरिदबिक्री हुने, मूल्यसूची तथा लेवलबिनाका वस्तुहरु बिक्री वितरण हुने, आमउपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने किसिमका विभिन्न खाद्य तथा अन्य वस्तुको खरिदबिक्री हुने गरेकाले त्यसबाट जोगाउन र जोगिनका लागि सचेतना कार्यक्रम गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत प्रवीण रानाले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव अधिवक्ता वसन्त गौतमले उपभोक्ता अधिकार र नागरिक सचेतनासम्बन्धी विषयमा सहजीकरण गरेका थिए । उनले बजारमा देखिएका नापतौल तथा गुणस्तर, अनुचित व्यापारिक क्रियाकलापले गर्दा आमउपभोक्ता मारमा परेका बताए ।

उनले उपभोक्तालाई न्याय दिनका लागि नियामक निकायहरूबिच समन्वय तथा सहकार्यको खाँचो देखिएको भन्दै नियामक संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिए । ठगिएका उपभोक्ताले समयमै उचित न्याय र क्षतिपूर्ति प्राप्त गर्नसक्ने अवस्थाको सिर्जना हुनुपर्ने उनको भनाइ थियो ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख मोहन घर्तिमगरले व्यवसाय दर्ता प्रक्रियासम्बन्धी कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरेका थिए । उनले दर्ता निकाय, आवश्यक कागजातहरू, समयसीमा, नवीकरण तथा अन्य नियमका बारेमा जानकारी दिए ।

उनले आधुनिक यन्त्र उपकरणको अभाव, औद्योगिक ग्राम, औद्योगिक क्षेत्र तथा कोरिडोरको अभाव, आवश्यक पुँजीको अभाव, दक्षताका अभाव, कच्चा पदार्थको अभाव, स्पष्ट नीति नियमको अभाव तथा समन्वय अभावका कारण घरेलु तथा साना उद्योगको विकासमा समस्याहरू रहेका बताए ।

उनले प्रभावकारी सरकारी संरक्षण, आधुनिक प्रविधि र सिपको विकास तथा प्रयोग, उत्पादित वस्तुको प्रचारप्रसार, उद्यमीहरूलाई उचित तालिमको व्यवस्था, अनुसन्धानशालाको स्थापना र सञ्चालन, बजारको उचित व्यवस्थापन, समयसापेक्ष सरकारी नीति र प्रभावकारी समन्वय तथा सहकार्य हुनसके समस्याहरूको समाधान गर्न सकिने उल्लेख गरे । 

खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले उपभोक्ता हित संरक्षणमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी जानकारी प्रदान गर्दै बजारमा देखिएका बेथितिविरुद्ध कार्यालयले नियमित रूपमा अनुगमन, सचेतना तथा कानुनी कारबाही गर्दै आएको उल्लेख गरे । 

उनले उपभोक्ताहरू पनि सचेत हुनुपर्ने बताउँदै उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा लेवल, म्याद, गुणस्तर चिन्ह लगायतका गुणस्तर, मूल्य इत्यादीमा ध्यान दिनुपर्ने बताए । उनले वस्तु तथा सेवा खरिद गरेपछि अनिवार्य रूपमा बिल लिन पनि आग्रह गरे ।

सबै उपभोक्ताहरू हानिकारक वा नक्कली सामानबाट बच्न र उपभोक्ता अधिकार संरक्षणका लागि सचेत हुनुपर्ने उनको भनाइ थियो ।

उद्योगी, व्यवसायी, उद्यमी, विभिन्न उपभोक्ता लगायतका सरोकारवाला सहभागी भएको कार्यक्रममा सहभागीहरूले उपभोक्ता अधिकारसम्बन्धी विभिन्न सुझावहरू दिएका थिए ।

प्रतिक्रिया