बर्दिया : बबई सिँचाइ आयोजनाको ७७ किलोमिटर मूल नहरमध्ये ७१ किलोमिटर निर्माण सम्पन्न भएको छ । निर्माण गर्न बाँकी रहेको छ किलोमिटर मूल नहर निर्माण तीव्र गतिमा भइरहेको छ । बर्दियाको ३६ हजार हेक्टरमा सिँचाइ गर्ने उद्देश्यसाथ यो नहर निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार हालसम्म ३३७ किलोमिटर शाखा र प्रशाखा नहर पनि निर्माण भइसकेका छन् । पूर्वतर्फका मूल नहर शाखा र प्रशाखा नहरको निर्माण सकिएको छ भने पश्चिमतर्फका सात वटा शाखाको २२ किलोमिटर नहर निर्माणाधीन रहेको छ ।
बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार पूर्वतर्फको नहर निर्माणको काम सकिएको छ । उनले भने, 'अब बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलरिया नगरपालिका क्षेत्रको रहेको छ । केही स्थानमा जग्गाको मुआब्जा दिन बाँकी छ । हालै बहुवर्षीय स्रोत सहमति आएको हुँदा बाँकी काम तीव्ररूपमा अगाडि बढाउँदै लगेका छौँ ।'
त्यसैगरी सिञ्चित क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत बबई नदीमा हालसम्म ३१ किलोमिटर तटबन्ध निर्माण भएको छ । अझ नौ किलोमिटर तटबन्ध निर्माण गर्न बाँकी छ । सूचना अधिकारी न्यौपानेले सिञ्चित क्षेत्रको सुरक्षाका लागि ससाना खोलानालामा तटबन्ध निर्माण, बाँध निर्माण आवश्यकता अनुसार भइरहेको बताए ।
बबई सिँचाइ आयोजनाका निर्देशक गोपाल शर्माले हालसम्म २८ हजार हेक्टरमा सिँचाइ पु¥याइसकिएको बताए । हालसम्म छ वटामध्ये पाँच वटा पालिकामा सिँचाइ पुगिसकेको छ । उनले गुलरिया नगरपालिकाको आठ हजार हेक्टरमा सिँचाइ पु¥याउन बाँकी रहेको बताए ।
२०४५ सालदेखि शुरु भएको बबई सिँचाइ आयोजनाको आगामी आव २०८५/८६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत २६ अर्ब रुपियाँ रहेकोमा १८ अर्ब रकम लगानी भइसकेको छ । आयोजनाका निर्देशक शर्माले आयोजनाको हालसम्मको भौतिक प्रगति ८१ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत भएको बताए । उनले विगतका वर्षमा भएका ठेक्काको काम चलिरहेको बताउँदै हालै बजेटको स्रोत सुनिश्चित भएकाले तत्काल ठेक्का खोलिने बताए ।
आगामी दुई वर्षमा आयोजना सकाउने लक्ष्य भए पनि धेरै चुनौती रहेको निर्देशक शर्माको भनाइ छ । आयोजनाको निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि जिल्लाका विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने गरी एकीकृत टोली बनाएर जानुपर्ने निर्देशक शर्मा बताउँछन् ।
अर्कातर्फ आयोजनाको काम छिट्टै सम्पन्न गर्नका लागि दुई/तीन सिफ्टमा काम गर्नुपर्ने बताउँदै उनले भने, 'रात्रिको समयमा काम गर्ने कर्मचारी र कामदारलाई प्रोत्साहन भत्ता र सुरक्षाको कुरालाई समेटेर छुट्टै मापदण्ड बनाउनुपर्छ ।'
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार