नेपालगञ्ज : मौसम विभागले आगामी तीन दिनसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि बाँके जिल्लाका आठवटै पालिकामा उच्च सतर्कता अपनाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार मौसम विभागले दिएको पूर्वसूचनालाई ध्यानमा राख्दै जिल्लाका आठवटै स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
उनका अनुसार सोहीबमोजिम सबै पालिकाले जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा उद्धारको व्यवस्था मिलाएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय बाँके तथा सुरक्षा निकायले उच्च सतर्कतासहित पूर्वतयारी गरेका हुन्।
विपद् न्यूनीकरणका लागि जिल्लास्थित सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरूको बैठक गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी पूरा गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।
उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका कमान्ड पोस्टलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ। प्रतिकार्य, उद्धार तथा जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाहका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।
यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिले विपद्सँग सम्बन्धित कार्यालय तथा संस्थाका विपद् फोकल पर्सनहरूको बैठक गरी सम्भावित जोखिमबाट जोगिन सबै प्रकारका पूर्वतयारी गर्ने निर्णय गरेको जनाएको छ।
'सम्भावित जोखिमयुक्त क्षेत्र, खासगरी विगतमा बाढी आउँदा डुबान हुने स्थानको पहिचान गरी जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी पूरा गरेर सबैलाई उच्च सतर्कतामा राखिएको छ,' प्रमुख जिल्ला अधिकारी तामाङले भने।
जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपदबाट हुन सक्ने क्षति घटाउन तयारी अवस्थामा रहन सबै स्थानीय तह र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाएको छ। विशेषगरी राप्ती र डुडुवा नदीलगायतका तटीय क्षेत्र, राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिका तथा कोहलपुर नगरपालिकाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाइएको छ।
जिल्लास्थित सुरक्षा निकायले विपद् व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्तिलाई २४ सैँ घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएका छन्।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराइदिन सम्बन्धित निकाय एवं स्थानीय तहसँग आग्रह गरिएको पनि सुरक्षा निकायले जनाएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले सम्भावित मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर जिल्लाका सबै सुरक्षा युनिटलाई सतर्क गराई तयारी अवस्थामा राखिएको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार