नेपालगञ्ज : बाँकेको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । गौरवको आयोजना भए पनि २० वर्षदेखि कछुवाको गतिमा काम भइरहेको छ । आयोजनाको लागत भने बढेको बढ्यै छ । सिक्टामा पैसा बगिरहँदा किसानको खेतमा पानी बग्न सकेको छैन ।
२०६१–०६२ मा गौरवको आयोजना सिक्टा सिँचाइको काम सुरु भएको हो । यसको सुरुवाती लागत १२ अर्ब ८० करोड थियो । समयमा काम सम्पन्न नहुँदा पटक–पटक गुरुयोजना संशोधन गर्दै ५२ अर्ब ८९ करोड लागत पुर्याइएको छ । २०८९–०९० सम्पन्न गर्ने पछिल्लो गुरुयोजना रहेको छ ।
बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनलाई सिँचाइ गर्ने गरी सिक्टाको परिकल्पना गरिएको छ । पूर्वी र पश्चिमीगरी दुई वटा मूल नहर छन् । पश्चिमी नहर ४५.२५ किलोमिटर र पूर्वी नहर ५३.५ किलोमिटरको रहेको छ । पश्चिमी नहरको शाखा, उपशाखा, प्रशाखाको करिव ६० प्रतिशत काम सकिएको छ ।
पूर्वी नहरमा धेरै काम बाँकी नै छ । पूर्वी नहरको नरैनापुर गाउँपालिकामा काम नै शुरुवात हुन सकेको छैन । आयोजनाका निमित्त निर्देशक इन्जिनियर राजु आचार्यले आयोजनाको हालसम्म ३९.२२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यो भनेको २० हजार २०० हेक्टरमा सिँचाइ सुविधा पुगेको अवस्था हो ।
सुरुवातीभन्दा ४० अर्ब बढी लागत बढ्दा अहिलेसम्म आयोजनामा २० अर्ब २४ करोड रुपैयाँ खर्च भइसकेको छ । सिक्टा आयोजना सम्पन्न हुन नसक्नुमा आयोजना प्रमुखको हुने छिटो सरुवालाई पनि लिइएको छ । २०६१–०६२ देखि हालसम्म आयोजनामा १५ जना कार्यालय प्रमुख परिवर्तन भइसकेका छन् । सिक्टाको काम शुरुवात गर्दा कृष्णराज तिमिल्सेना कार्यालय प्रमुख थिए । त्यसपछि सर्वदेवप्रसाद जयसवाल, दिलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित, रमेश बस्नेत, महेश्वर नरसिंह केसी, रमेश बस्नेत, कृष्ण नेपाल, लोकबहादुर थापा, रामप्रसाद अर्याल, सन्तोष कैनी, रमेशकुमार सिंह, देवराज निरौला र गोपाल शर्मा परिवर्तन भइसकेका छन् ।
यीमध्ये केही कार्यालय प्रमुखले मात्रै दुई वर्ष काम गर्न पाएका छन् । तीन महिना नपुग्दै कार्यालय प्रमुख परिवर्तन भएका छन् । आयोजनामा आएर कामकारबाही राम्ररी बुझ्न नपाउँदै सरुवा गरिदिने र हुने गरेको छ । स्रोतका अनुसार, पछिल्लो समयमा त सिक्टामा कार्यालय प्रमुख आउनै मानेका छैनन् ।
जनशक्ति र ठेक्का व्यवस्थापन, निकुञ्ज क्षेत्रमा बाढी व्यवस्थापन र घुलनशील माटोको समस्या सिक्टाको प्रमुख समस्या र चुनौतीको रुपमा रहेको छ । सिक्टा सिचाइँ आयोजनाको नहर आफ्नै खेत भएर जादा त्यहीका किसानले सिँचाइ गर्न पाएका छैनन् । अझै ९ हजार हेक्टर क्षेत्रमा काम नै हुन सकेको छैन ।
२०३२–०३३ सालदेखि सम्भाब्यता अध्ययन गर्दै २०६१–०६२ देखि काम थालिए पनि दु्रतगतिमा काम नहुँदा यहाँका किसान निराश भएका छन् । बाँकेमा अहिले ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । सिक्टा सिँचाइ सम्पन्न भएर पानीको सुविधा हुँदा ४२ हजार हेक्टरबढीमा खेती हुन सक्छ ।
सिक्टाको दुई पटक संसदीय टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको छ । मंसीर ८ गते संसदको पूर्वाधार विकास समितिले सिक्टाको अनुगमन निरीक्षण गरेको थियो । ठाकुर गैरेको नेतृत्वमा आएको प्रतिमा गौतम, विना लामा र लालबीर चौधरीको टोलीले सिक्टाको स्थलगत निरीक्षण गरेको हो ।
यस्तो निरीक्षण यसअघि २०७५ सालमा पूर्णाकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजक हुँदा भएको थियो । ६ वर्षपछि आएको संसदीय समितिले सिक्टा सिचाइँ आयोजनाको काम छिटो हुन नसक्नुका कारण, समस्याबारे बुझेर सरकारलाई प्रतिवेदन दिने जनाएको छ ।