काठमाण्डौ : सन् २०२५ मा बाँसुरी फिल्म्सले ‘कबड्डी ५’ र ‘जारी २’ सहित तीन नयाँ फिल्म निर्माण गर्ने भएको छ । ‘कबड्डी’ र ‘जारी’का नयाँ श्रृंखला सोही वर्षमा प्रदर्शनमा आउनेछन् ।
अर्को ‘अनटाइटल’ फिल्मको पटकथा लेखन कार्य भइरहेको छ । ‘कबड्डी’ र ‘जारी’का नयाँ श्रृंखलामा दयाहाङ राईको शीर्ष भूमिका हुने भएकाले उनका अन्य फिल्मको सेड्युलसँग मिलाएर यी दुवैलाई छायांकनमा लैजाने तयारी छ ।
‘दर्शकले कबड्डी र जारीका नयाँ सिक्वेल सन् २०२५ भित्रै हेर्न पाउनुहुनेछ’ बाँसुरी फिल्म्स निकट स्रोतले भन्यो, ‘उपयुक्त समय मिलाएर सोही वर्ष निर्माण र प्रदर्शन हुनेछन् ।’ ब्यानरकै अर्को फिल्मलाई भने यज्ञशले लेखिरहेका छन् ।
‘जारी २’ को निर्माणमा बाँसुरी फिल्म्ससँग उपेन्द्र सुब्बाको कबड्डी फिल्म्सले सहकार्य गर्नेछ । ‘यो फिल्मका कतिपय प्राविधिक कुरा टुंग्याउन बाँकी छ’ स्रोतले भन्यो । बाँसुरी फिल्म्सका यी तीनै फिल्मलाई घरेलु बक्स अफिसमा महत्वका साथ लिइएको छ ।
‘कबड्डी ४’ ले साढे २३ करोड र ‘जारी’ले १७ करोडभन्दा माथि कमाइ गरेको हिसाब छ । जसकारण दर्शकसँग यी फिल्मलाई लिएर अपेक्षा पनि उत्तिकै छ ।
अर्कोतर्फ ‘पूर्णबहादुरको सारङ्गी’पछि स्टारडमको उचाई बनाएका अभिनेता विजय बरालको पुनरागमन पनि बाँसुरी फिल्म्सका यी दुई प्रोजेक्टबाट हुने बलियो सम्भावना देखिएको छ । यसको संकेत विजय स्वयंले अनलाइनखबरसँग गरे । अहिले नाटकमा व्यस्त हुन लागेका विजय कम्तीमा दुई महिना मण्डलामै व्यस्त हुनेछन् । त्यसपछि बाँसुरी फिल्म्सकै प्रोजेक्टबाट उनको कमब्याक हुने सम्भावना बलियो छ ।