नेपालगञ्ज : मलेसियामा रहेका वीरेन्द्र पुनको असोज २ गते नेपाल आउने पक्का भइसकेको थियो। दुई महिनाका लागि घर आउने तयारी थालेका वीरेन्द्रले घरका सबै सदस्यलाई केही न केही कोशेली पनि किनिसकेका थिए। तीन महिनाको गर्भमा रहँदा आफू विदेशिएका वीरेन्द्रले पहिलो पटक छोरीलाई भेट्दै थिए। उनको मनमा हर्षको सीमा थिएन। छोरीका लागि वीरेन्द्रले विशेष सामान किनेर झोलामा प्याक गरिसकेका थिए। वीरेन्द्रको छोरीसँग प्रायःभिडियोकल भइरहन्थ्यो। दुई वर्ष दुई महिनाकी छोरीको तोतेबोलीले वीरेन्द्र मख्ख हुन्थे। २९ महिनापछि घर फर्कन लागेका वीरेन्द्रको हर्षले धीरता देखाउन पाएन।
दशैंमा परिवार साट्न पाउने कुरालरे हर्षिएका वीरेन्द्रलाई दशैं होइन दशा नै आए झैं भयो। भदौ ३० गते राति वीरेन्द्रको घरमा बज्रपात भयो, छोरीलाई बाघले लग्यो। उनै छोरी जसलाई पहिलो पटक प्रत्यक्ष भेट्ने कुराले हर्षित थिए, वीरेन्द्र।
राति साढे ७ बजेतिरको कुरा हो। खाना खाइसकेपछि घरदेखि अलि पर खोरमा राखिएका बाख्रालाई सधैं झैं अर्को खोरमा सार्ने तयारी हुँदै थियो। आमा सीता पुन त्यसको तरखर गर्दै थिइन्। आमा घरभित्र पस्दा छोरी बाहिर निस्केकी रहिछन्। बाख्रालाई दिन रोटी लिएर निस्केकी बालिकालाई धारा नजिकबाट बाघले तानेर लगेछ। छोरी कतै देखिइनन्। जताततै खोजी भयो। धाराभन्दा अगाडि आठा (आली) मा रगत देखियो। त्यहाँ धान पनि केही मडारिएको थियो। जताततै हल्लीखल्ली भयो। छिमेकीहरू पनि आए। पछि बुझ्दै जाँदा छोरीलाई बाघले नै लगेको बुझियो।
वीरेन्द्रले सीतालाई आफू आउँदा नेपालगञ्ज विमानस्थलमा छोरीलाई लिएर आउनु भनेका थिए। तर, आउनुभन्दा दुई दिनअघि नै त्यस्तो घटना भयो। दैवको लिला भनौ या सरकारको लापरवाही वीरेन्द्रले छोरीसँग भेट्न पाएनन्, भेट्न कहिल्यै नपाउने भए। ‘मेरो घर आउने कुरा पहिले नै पक्का भइसकेको थियो। छोरीको लागि पनि सामान किनेर राखिसकेको थिए। घर हिँड्नै लागेका बेलामा दुःखद् घटना सुनें। छोरीसँग भेट्न नलेखेको रहेछ। हाम्रो परिवारमा बज्रपात भयो’ छोरी वियोगमा पिल्सिएका वीरेन्द्र भन्छन्।
वीरेन्द्रका १३ र ९ वर्षीय छोरा छन्। देशमा रोजगारीको अवसर खासै नहुने र भएपनि पारिश्रिक एकदमै न्युन भएपछि परिवारको आर्थिक स्तर उकास्न वीरेन्द्र मलेसिया जाने–आउँने गरिरहन्छन्। विगतमा १९÷२० महिनामा वीरेन्द्र घर फर्किन्थे। यसपाली के–के नमिलेर २९ महिनामा फर्किँदै थिए। अरु वर्षभन्दा अलि ढिला गरी घर फर्किँन लागेका वीरेन्द्रले आफ्नो रहरकी छोरी पनि कहिल्यै भेट्न नपाउने भए।
दशैं नजिकिएको छ। विदेश गएको मान्छे घर फर्किँदा जुनसुकै घरमा खुसीयाली हुन्छ नै। तर, वीरेन्द्रको घरमा त्यस्तो छैन। वीरेन्द्र र सीतालाई दशैं होइन दशा लागेझैं भएको छ।
वीरेन्द्रको परिवार मात्र होइन्। खजुरा गाउँपालिका– ६, सिमलघारी र आसपासका गाउँ त्यो घटनापछि आतंकित छ। स्थानीय रातीमा बाहिर निस्किन छोडेका छन्। बालिका लैजाने बाघलाई नियन्त्रण गर्न धेरै प्रयास गरेपनि सकेका छैनन्। ठाउँठाउँमा क्यामेरा जडान गरिएको छ, पासो थापिएको छ। हात्तीसहित डार्ट (बेहोस बनाउने) टोली परिचालन गरिएको छ। नियन्त्रणका अनेक उपाय अपनाइएको छ। तर, बालिका लैजाने बाघ नियन्त्रणमा आएको छैन। त्यो बाघ नियन्त्रणमा नआउँदा गाउँले त्रसित छन्।
अन्य गाउँले पनि वीरेन्द्रको परिवारमा जस्तो बज्रपातको भयमा छन्। बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो। मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ। त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको गाउँलेहरु बताउँछन्। बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन्।
जानकारहरुका अनुसार बाघको आफ्नो निश्चित क्षेत्र (एरिया) हुन्छ। त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ। शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ। बर्दियामा एक सय २५ र बाँकेमा २५ वटा बाघ छन्। बाघको संख्या योभन्दा बढिसकेको सम्बद्धहरू बताउँछन्। निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ। घरमै आउन थालेपछि निकुञ्ज होइन, सामुदायिक वन नजिकका स्थानीय त्रसित छन्।